Thursday, August 20, 2026
spot_img

तनहुँ जलविद्युत् आयोजनाको ७८ प्रतिशत काम पूरा, बाँध निर्माणले लिँदैछ गति

spot_img

Share

spot_img

काठमाडाैँ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य ७८ प्रतिशत पूरा भएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले तनहुँ जिल्लामा निर्माण गरिरहेको आयोजनाको काम तिव्र गतिमा अघि बढेको छ ।

जिल्लाको सेती नदीमा निर्माण भइरहेको आयोजनाको मुख्य संरचनालाई तीनवटा प्याकेजमा विभाजन गरेर अघि बढाइएको छ । जसमा बाँध तथा हेडवर्क्सको काम तुलनात्मक रूपमा पछाडि रहे पनि विद्युतगृह, सुरुङ तथा प्रसारण लाइनतर्फको कामले गति लिएको छ ।

कम्पनीले सार्वजनिक गरेको जुलाई २०२६ सम्मको प्रगति विवरणअनुसार प्याकेज–१ अन्तर्गतको बाँधलगायत हेडवर्क्सको निर्माण ६२ प्रतिशत, प्याकेज–२ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरणको काम ७९ प्रतिशत र प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको निर्माण ८२ प्रतिशत पूरा भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वको कम्पनी तनहुँ हाइड्राे पावर लिमिटेडमार्फत निर्माण भइरहेको आयोजना जलाशययुक्त प्रकृतिको हो । आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानीसँगै एसियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग र युरोपेली लगानी बैंकको सहुलियतपूर्ण ऋण लगानी रहेको छ । मुख्य संरचनालाई बाँध, विद्युतगृह तथा सुरुङ र प्रसारण लाइन गरी तीन प्याकेजमा विभाजन गरिएको छ ।

१४० मिटर अग्लो बाँधमा ४ लाख ७३ हजार घनमिटरभन्दा बढी कंक्रिट
आयोजनाको सबैभन्दा महत्वपूर्ण संरचना मानिएको १४० मिटर अग्लो मुख्य बाँध निर्माणले अहिले गति लिइरहेको छ । बाँध निर्माणका लागि सेती नदीको धार मोड्ने, कफर ड्याम निर्माण, डाइभर्सन सुरुङ तथा ग्राउटिङ टनेल निर्माणजस्ता प्रारम्भिक काम सम्पन्न भइसकेका छन् ।

२०८१ चैत ७ गतेदेखि मुख्य बाँधमा कंक्रिटिङ सुरु गरिएको थियो । जुलाई २०२६ सम्म बाँधमा यस अवधिमा मात्रै २५ हजार २४५ घनमिटर कंक्रिट थपिएको र कुल ४ लाख ७३ हजार ७६१ घनमिटर कंक्रिट सम्पन्न भएको आयोजनाले जनाएको छ । मुख्य बाँधको निर्माणसँगै फाउन्डेसन ट्रिटमेन्ट, कोर ड्रिलिङ, कन्सोलिडेसन तथा कर्टन ग्राउटिङ, ढलान स्थिरीकरण र नदी संरक्षणका कामसमेत अघि बढिरहेका छन् ।

बाँधतर्फको निर्माण प्रगति ६२ प्रतिशत पुगेको छ । बाँधको दायाँ र बायाँ किनारमा ग्राउटिङ ग्यालरी निर्माण, ढलान स्थिरीकरण तथा अन्य संरचनाको काम पनि जारी छ ।

सुरुङ र विद्युतगृहमा ७९ प्रतिशत काम
प्याकेज–२ अन्तर्गत जलाशयको पानी विद्युतगृहसम्म पुर्याउने मुख्य सुरुङ, मुहान सुरुङ, वर्क सुरुङ, विद्युतगृह तथा हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरण जडानका काम भइरहेका छन् ।

मुख्य सुरुङमा ड्रिलिङसँगै विभिन्न प्रकारका ग्राउटिङको काम जारी छ । ४२० मिटर तहमा रहेको मुहान सुरुङमा कंक्रिटिङ तथा अन्य निर्माण कार्य अघि बढाइएको छ । विद्युतगृहमा जेनेरेटर, टर्बाइन, ट्रान्सफर्मरलगायतका उपकरण जडान तथा परीक्षणका कामसमेत भइरहेका छन् ।

यस प्याकेजको समग्र निर्माण प्रगति ७९ प्रतिशत पुगेको छ । स्टिल पेनस्टक पाइपतर्फ २१३.३०९ मिटर लम्बाइको पाइप जडान तथा सम्बन्धित काम सम्पन्न भएको आयोजनाको विवरणमा उल्लेख छ ।

दमौली–भरतपुर प्रसारण लाइन ८२ प्रतिशत
आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनतर्फको काम भने तीन प्याकेजमध्ये सबैभन्दा अगाडि पुगेको छ ।
करिब ३५ किलोमिटर लामो प्रसारण लाइनमा ९४ वटा टावर निर्माण गर्नुपर्नेमा जुलाईसम्म ८३ वटा टावरको जग हाल्ने र ७६ वटा टावर जडान गर्ने काम सम्पन्न भएको विवरणमा उल्लेख छ । प्याकेज–३ को समग्र निर्माण प्रगति ८२ प्रतिशत पुगेको छ ।

प्रसारण लाइनको निर्माणसँगै आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा लैजान आवश्यक पूर्वाधार निर्माणको काम पनि अन्तिम चरणतर्फ अघि बढेको देखिन्छ ।

निर्माणसँगै वातावरणीय सुरक्षणमा पनि जोड
आयोजनाले भौतिक पूर्वाधार निर्माणसँगै वातावरणीय तथा सामाजिक सुरक्षणका कार्यक्रमलाई समेत अघि बढाएको छ । निर्माणस्थल, श्रमिक आवास, स्वास्थ्य तथा सुरक्षा, वायु गुणस्तर र ध्वनि प्रदूषणलगायतका विषयमा नियमित अनुगमन भइरहेको आयोजनाको विवरणमा उल्लेख छ ।

प्रसारण लाइन निर्माणका क्रममा चितवनमा वन क्षेत्र व्यवस्थापन, काटिएका रुखको सुरक्षित भण्डारण तथा सामुदायिक वनसँग सम्बन्धित काम अघि बढाइएको छ । माछा संरक्षणका लागि सहायक नदी तथा खोलामा सर्वेक्षण, प्रजननयोग्य माछा संरक्षण र ह्याचरी सञ्चालनसमेत गरिएको छ ।

प्रभावित समुदायका लागि विद्यालयदेखि जीविकोपार्जनसम्मका कार्यक्रम
आयोजनाले प्रभावित समुदायलाई लक्षित गरी सामुदायिक विकास तथा जीविकोपार्जन पुनर्स्थापनाका कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

ऋषिङ गाउँपालिका–१ गैराखुदीस्थित श्री दीपक माध्यमिक विद्यालयमा शौचालय सुविधासहितको छतले विद्यालय भवन निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ । सम्झौता रकम १ करोड २० लाख ६८ हजार ७२३ रुपैयाँ रहेको र निर्माण अवधि १८ महिना तोकिएको छ । नयाँ भवन निर्माणपछि आयोजना प्रभावित क्षेत्रका विद्यार्थीका लागि सुरक्षित तथा गुणस्तरीय शैक्षिक पूर्वाधार उपलब्ध हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, जीविकोपार्जन पुनर्स्थापना कार्यक्रमअन्तर्गत बाख्रापालनसम्बन्धी तालिम र प्रजननयोग्य बोका उपलब्ध गराउने विषयमा नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको बाख्रा अनुसन्धान केन्द्रसँग सहकार्यबारे छलफल गरिएको छ ।

जलाशय तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने ऐलानी जग्गाका विषयमा समेत मुआब्जा निर्धारण समितिले प्रभावित जोतभोगकर्ता तथा बसोबासीको विवरण संकलन गरी प्रक्रिया अघि बढाएको छ ।

यसरी हेर्दा तनहुँ जलविद्युत् आयोजनाको समग्र निर्माण ७८ प्रतिशत पुगेको अवस्थामा अब आयोजनाको मुख्य चुनौती बाँध निर्माणलाई थप गति दिनु, बाँकी सुरुङ तथा इलेक्ट्रोमेकानिकल काम सम्पन्न गर्नु र प्रसारण लाइनलाई पूर्ण रूपमा तयार गर्नु देखिएको छ । आयोजनाका तीनवटै प्याकेज क्रमशः अन्तिम चरणतर्फ अघि बढिरहेकाले निर्माण सम्पन्न भएपछि १४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img