Sunday, November 8, 2026
spot_img

चाडपर्बमा नियमित विद्युत उपलब्ध हुन्छ- प्राधिकरण

spot_img

Share

spot_img

काठमाडौं । नेपाल सम्वत्, तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणले विशेष तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको निर्देशनपछि प्राधिकरणले विद्युत् उत्पादनदेखि प्रसारण र वितरण प्रणालीसम्मको व्यवस्थापन चुस्त बनाएको हो।


उज्यालो र उल्लासको पर्व तिहारमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन प्राधिकरणले प्रणालीको नियमित निगरानी, सम्भावित प्राविधिक समस्या पहिचान तथा तत्काल समाधानका लागि आवश्यक जनशक्तिलाई चौबीसै घण्टा तयारी अवस्थामा राखेको जनाएको छ।
यसअघि ऊर्जामन्त्री श्रेष्ठले अघिल्लो साता प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठसहित उच्च अधिकारीहरूलाई तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित राख्न र सम्भावित अवरोध न्यूनीकरण गर्न निर्देशन दिनुभएको थियो। उहाँले आपूर्ति व्यवस्थापनसँगै उपभोक्ताका गुनासोलाई तत्काल सम्बोधन गर्ने प्रभावकारी व्यवस्था मिलाउनसमेत जोड दिनुभएको थियो।


मन्त्रीको निर्देशनअनुसार प्राधिकरणले विद्युत् प्रणालीको निरन्तर निगरानी, प्राविधिक जनशक्तिको परिचालन र सम्बन्धित निकायबीच समन्वयलाई प्राथमिकतामा राखेको छ। विशेषगरी विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल समाधान गर्न तथा नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाएर उपभोक्ताका गुनासा शीघ्र सम्बोधन गर्न निर्देशन दिइएको छ।


यस वर्षको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने प्राधिकरणको अनुमान छ। उक्त माग धान्न आन्तरिक उत्पादन नै पर्याप्त हुने देखिएको छ। प्राधिकरणका अनुसार सो अवधिमा विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण छ। यसले आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्ति व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।


यसैबीच, प्राधिकरणले चाडपर्वका समयमा विद्युत् दुर्घटनाबाट जोगिन सुरक्षित प्रयोगमा विशेष ध्यान दिन उपभोक्तालाई आग्रह गरेको छ। घरमा प्रयोग भइरहेका विद्युतीय उपकरण, तार तथा अन्य सामग्रीको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन प्राधिकरणले अनुरोध गरेको छ।
विद्युत् आपूर्तिमा कुनै समस्या आएमा नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गरी जानकारी गराउन पनि प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img