काठमाडौँ । विद्युत् विकास विभागले गोरखाको चुमनुव्री गाउँपालिकामा ४०.२० मेगावाटको टोम डोगर (बुढीगण्डकी) जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको छ । विभागले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) तयार गरी स्वीकृतीका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ ।
विभागले तयार पारेको प्रतिवेदन अनुसार आयोजना निर्माण सम्पन्न गर्न ८ अर्ब ६८ करोड २५ लाख रुपैयाँ लागत लाग्ने देखिएको छ । यसअनुसार प्रतिमेगावाट लागत २१ करोड ५९ लाख रुपैयाँ अनुमान गरिएको छ ।
आयोजनाको विवरण
आयोजना गण्डकी प्रदेशको गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर ४ र ५ मा प्रस्ताव गरिएको छ । यो आयोजना नदी प्रवाहमा आधारित छ । प्रस्तावित आयोजनाको मुख्य संरचनाहरुमा डाइभर्जन वेयर इन्टेक, ग्राभेल ट्रयाप, डिसेन्डर, हेडरेस पाइप, हेडरेस टनेल, सर्ज साफ्ट, प्रेसर साफ्ट, विद्युतगृह र टेलरेस टनेल पर्दछन् ।
प्रस्तावित आयोजनाको हेडरेस टनलेको लम्बाइ १८२५ मिटर रहनेछ भने विद्युतगृह भूमिगत रहनेछ । यो आयोजना पूरा भएपछि वार्षिक २३३.३२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । जसमा सुख्खा मौसममा ७३.४९ गिगावाट घण्टा र वर्षायाममा १५९.८६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने कम्पनीको प्रतिवेदनमा उल्लेख छ ।
आयोजनाको काम निर्माण सुरु भएको ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत् १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत ५१.१ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको गुम्दा सबस्टेसनमा जोडिनेछ ।