काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने सम्बन्धमा प्रस्ताव गरेको नयाँ प्रारूप निजी क्षेत्रलाई निरुत्साहित गर्ने र पीपीए प्रक्रियालाई थप अनिश्चित बनाउने खालको रहेको भन्दै यसको खारेजीको माग गरिएको छ ।
स्नोफल हाइड्रो पावर प्रा.लि.का कार्यकारी प्रमुख तारा सुब्बाले प्रस्तावित पीपीए प्रारूप निजी ऊर्जा क्षेत्रको मर्म, लगानीको सुरक्षा र राज्यको घोषित ऊर्जा विकास नीतिविपरीत रहेको बताउँदै एकतर्फी रूपमा ल्याइएको यस्तो व्यवस्था स्वीकार्य नहुने बताएका छन् ।
सुब्बाका अनुसार प्रस्तावित प्रारूपले तीन दशकदेखि जलविद्युत् क्षेत्रमा लगानी गर्दै आएको निजी क्षेत्रको अनुभव, योगदान र प्रतिबद्धतालाई बेवास्ता गरेको छ । निजी क्षेत्रसँग पर्याप्त छलफल र सहमति नगरी प्राधिकरणलाई मात्रै केन्द्रमा राखेर नीतिगत परिवर्तन गर्न खोजिएको उनको आरोप छ ।
प्रस्तावित प्रारूपमा पीपीएलाई व्यवस्थित, पारदर्शी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्य उल्लेख गरिए पनि त्यसका प्रावधानले निजी क्षेत्रको लगानीमा थप जोखिम सिर्जना गर्ने सुब्बाको भनाइ छ ।
५ हजार मेगावाटका आयोजना अन्योलमा
सुब्बाले पीपीए गर्ने स्थापित प्रक्रियालाई जटिल र गोलमटोल बनाउँदा लामो समयदेखि सम्झौताको पर्खाइमा रहेका आयोजनाहरूको भविष्य अनिश्चित बनेको बताएका छन् । उनका अनुसार पीपीएका लागि आह्वान भइसकेका करिब ५ हजार मेगावाट क्षमताका आयोजनासमेत प्रस्तावित व्यवस्थाबाट प्रभावित हुने जोखिम छ ।
प्रवद्र्धकहरूले ठूलो समय र लगानी खर्च गरेर सर्वेक्षण तथा उत्पादन अनुमतिपत्र, विस्तृत अध्ययन र ग्रिड जडान सम्झौता प्राप्त गरिसकेका अवस्थामा नयाँ मापदण्डले ती उपलब्धिको सुनिश्चितता कमजोर बनाएको उनको तर्क छ ।
प्रस्तावित प्रारूपमा पीपीए निर्णयका लागि तीन चरणको प्रक्रिया प्रस्ताव गरिएको छ । पहिलो चरणमा न्यूनतम अनिवार्य योग्यता, दोस्रो चरणमा १०० पूर्णाङ्कको मूल्यांकन र तेस्रो चरणमा वार्षिक पीपीए खरिद सीमा निर्धारण गर्ने व्यवस्था छ ।
त्यस्तै, ८० देखि १०० अंक प्राप्त गर्ने आयोजनालाई ‘ए’ श्रेणीमा राखेर पीपीएका लागि प्राथमिकता दिने उल्लेख छ । तर ए श्रेणीमा परे पनि पीपीए स्वतः सुनिश्चित नहुने र राष्ट्रिय प्रणालीको आवश्यकता, प्रसारण क्षमता तथा प्राधिकरणको वित्तीय क्षमताका आधारमा अन्तिम निर्णय प्राधिकरणले नै गर्ने व्यवस्था गरिएको छ ।
यसले वस्तुगत मूल्यांकन प्रणालीको औचित्यमाथि प्रश्न उठाएको सुब्बाको भनाइ छ । अंकका आधारमा आयोजना छनोट हुने भनिए पनि अन्तिम निर्णय अधिकार प्राधिकरणमै रहने भएपछि प्रवर्द्धकले लगानीको सुनिश्चितता कसरी गर्ने भन्ने प्रश्न उनले उठाएका छन् ।
सुक्खायामको ३० प्रतिशत ऊर्जा अनिवार्य, कमी भए १५० प्रतिशत जरिवाना
प्रस्तावित प्रारूपको सबैभन्दा विवादास्पद व्यवस्थामध्ये सुक्खायामको ऊर्जा उत्पादनसम्बन्धी प्रावधान रहेको सुब्बाको भनाइ छ । प्रारूपमा सबै आयोजनाले कुल ऊर्जाको कम्तीमा ३० प्रतिशत सुक्खायाममा उत्पादन हुने सुनिश्चित गर्नुपर्नेछ । त्यस्तै, सुक्खायामको ऊर्जा उत्पादनका आधारमा ४ देखि १० अंकसम्म दिने व्यवस्था गरेको छ । ३० देखि ३४.९९ प्रतिशत ऊर्जा उत्पादन गर्ने आयोजनाले ४ अंक पाउने र ४५ प्रतिशतभन्दा बढी उत्पादन गर्नेले १० अंक पाउने व्यवस्था छ ।
यसका अतिरिक्त, सम्झौता गरिएको सुक्खायामको ऊर्जा उत्पादन हुन नसके अपुग ऊर्जाको परिमाणमा खरिद दरको १५० प्रतिशतका दरले जरिवाना तिर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । सुब्बाका अनुसार प्राकृतिक रूपमा सुक्खायाममा नदीको बहाव कम हुने भएकाले सबै नदी तथा आयोजनाबाट समान अनुपातमा ऊर्जा उत्पादन सम्भव हुँदैन । जलवायु परिवर्तन, खडेरी तथा प्राकृतिक विपद्का कारण नदीको बहाव घट्न सक्ने अवस्था प्रवद्र्धकको नियन्त्रणबाहिर हुन्छ ।
यस्तो अवस्थामा न्यूनतम ३० प्रतिशत ऊर्जा उत्पादनको अनिवार्य शर्त राख्नु र पूरा गर्न नसके १५० प्रतिशतसम्म जरिवाना लगाउने व्यवस्था गर्नु अन्यायपूर्ण रहेको उनको टिप्पणी छ ।
प्राधिकरणको जिम्मेवारीसमेत निजी क्षेत्रमाथि थोपर्ने प्रयास
प्रस्तावित प्रारूपले प्रसारण पूर्वाधार र अन्तर्राष्ट्रिय विद्युत् बजारमा निर्यात हुने जोखिमसमेत निजी प्रवद्र्धकलाई बोकाउन खोजेको सुब्बाको आरोप छ । प्रारूपमा प्रसारण लाइनको उपलब्धता र ग्रिड तयारीका आधारमा ३० अंकसम्म दिने व्यवस्था गरिएको छ । विद्यमान वा निर्माणाधीन प्रसारण लाइनको अवस्थाका आधारमा आयोजनाको मूल्यांकन हुने व्यवस्था छ । तर प्रसारण पूर्वाधार निर्माण तथा सञ्चालन प्राधिकरणको जिम्मेवारीमा रहेको अवस्थामा त्यसको जोखिम पनि प्रवद्र्धकले वहन गर्नुपर्ने परिस्थिति सिर्जना गर्न नहुने उनको भनाइ छ ।
त्यस्तै, वर्षायामको विद्युत् ऊर्जामा ‘टेक अर पे’ को अनुपात ८० प्रतिशत राख्दा १० अंक, ७० प्रतिशत राख्दा १५ अंक, ६० प्रतिशत राख्दा २० अंक र ५० प्रतिशत वा सोभन्दा कम राख्दा २५ अंक दिने व्यवस्था छ । यसरी वर्षायामको ऊर्जाको बढी जोखिम प्रवद्र्धकले वहन गर्ने प्रस्तावलाई बढी अंक दिने व्यवस्थाले आयोजनाको आर्थिक जोखिम थप बढाउने सुब्बाको विश्लेषण छ । प्रवर्द्धकले ‘टेक एन्ड पे’का रूपमा प्रस्ताव गरेको ऊर्जाको न्यूनतम २० प्रतिशत रिजर्भ मार्जिनमा राख्ने र अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दा लाग्ने प्रसारण शुल्क तथा ट्रेड मार्जिनसमेत प्रवद्र्धकले नै तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
उनका अनुसार यसले आयोजनाको नगद प्रवाह र ऋण भुक्तानी क्षमतामा प्रत्यक्ष असर पार्नेछ । प्राधिकरणको जोखिम व्यवस्थापन गर्ने नाममा प्रवर्द्धकको नियन्त्रणबाहिर रहेका जोखिमसमेत निजी क्षेत्रलाई हस्तान्तरण गर्न खोजिएको भन्दै उनले जोखिम नियन्त्रण गर्ने पक्षले नै त्यसको जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
शेयर संरचना परिवर्तनमा अंक कटौतीले लगानी स्वतन्त्रता कमजोर हुने
प्रस्तावित प्रारूपमा प्रवद्र्धकको विगतको कार्यसम्पादन र आयोजनाको जोखिम मूल्यांकन गर्ने भन्दै २० अंकसम्म नकारात्मक अंकभारको व्यवस्था गरिएको छ । यसअन्तर्गत सर्वेक्षण वा उत्पादन अनुमतिपत्र हस्तान्तरण वा कारोबार भएको अवस्थामा ५ अंक कटौती गर्ने, अनुमतिपत्र लिँदाको तुलनामा शेयर संरचनामा २५ देखि ५० प्रतिशतसम्म परिवर्तन भए २ अंक र ५० प्रतिशतभन्दा बढी परिवर्तन भए ३ अंक कटौती गर्ने प्रस्ताव छ । त्यस्तै, उत्पादन अनुमतिपत्र जारी भएपछि आयोजनाको क्षमता परिवर्तन प्रस्ताव गरे ५ अंक कटौती गर्ने व्यवस्था छ ।
सुब्बाले प्रचलित कानुनअनुसार र सम्बन्धित निकायको स्वीकृति लिएर गरिएको शेयर हस्तान्तरण तथा कम्पनी पुनर्संरचनालाई नकारात्मक रूपमा मूल्यांकन गर्नु व्यावसायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन् । जलविद्युत् आयोजना विकासका क्रममा पूँजी परिचालन, लगानी साझेदारी र कम्पनीको संरचना परिवर्तन स्वाभाविक व्यावसायिक प्रक्रिया भएकाले यस्तो व्यवस्थाले नयाँ लगानीलाई निरुत्साहित गर्ने उनको भनाइ छ ।
विस्तृत प्राविधिक अध्ययनका क्रममा आयोजनाको क्षमता परिवर्तन हुन सक्ने अवस्थामा समेत पाँच अंक कटौती गर्ने व्यवस्था अव्यावहारिक रहेको उनले उल्लेख गरेका छन् ।
१० मेगावाटसम्मका आयोजनालाई पनि सहज पीपीए नहुन
सरकारले बजेटमार्फत १० मेगावाटभन्दा कम क्षमताका आयोजनाको पीपीए गर्ने घोषणा गरेको भए पनि प्रस्तावित प्रारूपले साना आयोजनालाई समेत पर्याप्त सहुलियत नदिएको सुब्बाको आरोप छ ।
प्रारूपमा १० मेगावाटसम्मका आयोजनाका लागि छुट्टै वार्षिक पीपीए सीमा निर्धारण गर्ने उल्लेख छ । तर त्यस्ता आयोजनाको छनोटमा पनि प्रस्तावित मापदण्डअनुसारकै प्रक्रिया लागू हुने व्यवस्था गरिएको छ । साना आयोजनाका लागि पूर्ववत् प्रावधानअनुसार सरल र सहज रूपमा टेक अर पे व्यवस्थामा पीपीए गर्ने नीति लिनुपर्ने सुब्बाको माग छ । बजेटमार्फत तत्काल पीपीए गर्ने घोषणा गर्ने तर कार्यान्वयनमा जटिल मापदण्ड ल्याउने कार्यले राज्यको प्रतिबद्धतामाथि नै प्रश्न उठाएको उनको भनाइ छ ।
प्रदेशका आधारमा अंकभार र वार्षिक खरिद सीमामा पनि प्रश्न
प्रस्तावित प्रारूपमा रणनीतिक तथा क्षेत्रीय महत्वका आधारमा प्रदेशअनुसार अंक दिने व्यवस्था छ । कर्णाली प्रदेशमा रहेका आयोजनाले ५, मधेशले ४, लुम्बिनी र सुदूरपश्चिमले ३ तथा अन्य प्रदेशका आयोजनाले १ अंक पाउनेछन् । आयोजनाको विद्युत् गृह रहेको प्रदेशका आधारमा अंक दिने व्यवस्था गरिएको भए पनि प्रसारण लाइनसम्बन्धी मापदण्डका कारण कर्णालीका आयोजनाले अन्य शीर्षकमा पर्याप्त अंक प्राप्त गर्न कठिन हुने अवस्था रहेको सुब्बाको तर्क छ । यसले समान अवसरको सिद्धान्तलाई कमजोर बनाउने उनको भनाइ छ ।
त्यस्तै, प्रस्तावित प्रारूपमा वार्षिक पीपीए खरिद सीमा निर्धारण गर्ने व्यवस्था भए पनि कति मेगावाट क्षमता वा कति ऊर्जा कुन आधारमा वार्षिक रूपमा खरिद गरिने भन्ने स्पष्ट र पूर्वानुमानयोग्य सूत्र नहुँदा प्रवद्र्धकलाई लगानी योजना बनाउन कठिन हुने उनले बताएका छन् ।
नीति निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउन माग
सुब्बाले प्रस्तावित प्रारूप रास्वपाको वाचापत्र, सरकारको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३ र बजेट वक्तव्य २०८३/८४ को मर्मविपरीत रहेको दाबी गरेका छन् । ऊर्जा खपत विस्तार र विद्युत् बजारीकरणको स्पष्ट कार्ययोजना प्रस्तुत गर्नुको सट्टा पीपीए प्रक्रियालाई जटिल बनाउने नीतिले सरकारको घोषित ऊर्जा विकास लक्ष्यसमेत प्रभावित हुन सक्ने उनको भनाइ छ ।
जलविद्युत् आयोजना ३५ देखि ५० वर्षसम्म सञ्चालन हुने दीर्घकालीन पूर्वाधार भएकाले लगानीकर्ताका लागि स्थिर, पारदर्शी र पूर्वानुमानयोग्य पीपीए नीति आवश्यक रहेको उनले बताएका छन् । अन्यथा निजी क्षेत्र जलविद्युत् क्षेत्रबाट पलायन हुने र नयाँ लगानी प्रभावित हुने जोखिम रहेको उनको चेतावनी छ ।
उनले लामो समयदेखि सर्वेक्षण अनुमति लिई विस्तृत अध्ययन, वातावरणीय स्वीकृति तथा अन्य प्रक्रियामा लगानी गरिसकेका आयोजनाको संरक्षणका लागि ग्रान्डफादरिङ व्यवस्था गर्नुपर्ने माग गरेका छन् । नयाँ मापदण्ड लागू गर्दा पुरानो नीतिअनुसार प्रक्रिया अघि बढाएका आयोजनालाई पूर्ववत् व्यवस्था लागू हुने सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ ।
सुब्बाले पीपीए प्रक्रियामा पारदर्शिता, निष्पक्षता र जवाफदेहिता कायम गर्नुपर्ने, निजी क्षेत्रको अनुभव र लगानी प्रतिबद्धतालाई समेटेर साझा सहमतिमा नीति बनाउनुपर्ने तथा प्राधिकरणको जिम्मेवारी र निजी क्षेत्रको व्यावसायिक जोखिमबीच स्पष्ट सीमा निर्धारण गर्नुपर्ने बताएका छन् ।
‘पीपीए निजी क्षेत्रलाई जोखिम हस्तान्तरण गर्ने माध्यम बन्नु हुँदैन’
सुब्बाका अनुसार पीपीए केवल प्राधिकरणको वित्तीय जोखिम व्यवस्थापन गर्ने उपकरण नभई ऊर्जा उत्पादनमा निजी लगानी आकर्षित गर्ने आधारसमेत हो । त्यसैले प्राधिकरणको दायित्व र जोखिम निजी प्रवद्र्धकलाई हस्तान्तरण गर्ने गरी मापदण्ड बनाउन नहुने उनको धारणा छ ।
प्रस्तावित प्रारूपले विद्यमान स्वरूपमै कार्यान्वयन पाए निजी क्षेत्रको लगानीको पूर्वानुमानयोग्यता कमजोर हुने, आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित हुने र दीर्घकालमा ऊर्जा उत्पादन तथा निर्यातको सरकारी लक्ष्यसमेत जोखिममा पर्ने उनको निष्कर्ष छ ।
उनले निजी क्षेत्रसँग व्यापक छलफल गरी लगानीमैत्री, पारदर्शी, वस्तुगत र कानुनसम्मत नयाँ व्यवस्था बनाउनुपर्ने माग गर्दै हाल प्रस्तावित पीपीए प्रारूप खारेज गर्न सरकार र नेपाल विद्युत् प्राधिकरणसँग आग्रह गरेका छन् ।











