काठमाडाैँ । सङ्खुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गर्ने भएका छन् ।
आयोजना निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीद्वारा प्रवर्द्धित परियाेजनाकाे शिलान्यास दुवै देशका प्रधानमन्त्रीले सोमबार नयाँदिल्लीबाट डिजिटल माध्यममार्फत शिलालेख अनावरण गर्ने कार्यक्रम तय भएको छ ।
सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहने आयोजनाको शिलान्यास कार्यक्रम आयोजनास्थलबाट प्रत्यक्ष प्रसारणसमेत गरिने कम्पनीले जनाएको छ ।
आयोजना निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा मुआब्जा वितरणको काम पनि अघि बढिरहेको छ । हालसम्म प्रभावित क्षेत्रका करिब २५३ परिवारलाई ९९ करोड ९८ लाख ३९ हजार रुपैयाँ मुआब्जा वितरण भइसकेको छ । आयोजनाका कारण २६८ घरपरिवार प्रत्यक्ष प्रभावित हुनेछन् भने निर्माणस्थलमा पर्ने ६५६ जनाले मुआब्जा पाउनेछन् । कम्पनीले मुआब्जाबापत कुल एक अर्ब ४० करोड रुपैयाँ वितरण गर्ने अनुमान गरेको छ ।
आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । नेपाल लगानी बोर्ड र भारतीय कम्पनीबीच २०८० जेठ १८ गते परियोजना विकास सम्झौता (पीडीए) सम्पन्न भएको थियो । सम्झौताअनुसार आयोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा अघि बढाइनेछ ।
आयोजनाको निर्माण अवधि पाँच वर्ष निर्धारण गरिएको छ । व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना चालु अवस्थामा नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिनेछ । आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
तल्लो अरुण आयोजनाको निर्माण प्रक्रिया अरुण तेस्रो जलविद्युत् आयोजनासँग पनि जोडिएको छ । भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनाबाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई खाँदबारी नगरपालिका–२ चेवाबेसीबाट करिब १७.३ किलोमिटर लामो सुरुङमार्फत तल्लो अरुणको विद्युत् गृहमा पुर्याइनेछ ।
तल्लो अरुण आयोजना निर्माण सम्पन्न भएपछि सङ्खुवासभासहित समग्र कोशी प्रदेशको ऊर्जा उत्पादन, पूर्वाधार विकास र आर्थिक गतिविधिमा थप गति आउने अपेक्षा गरिएको छ ।











