काठमाडाैँ । हिम रिभर पावर लिमिटेडले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा निर्माण गरेको १६.२६ मेगावाट क्षमताको लिपिङ खोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन तथा प्रसारण प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेकाे छ । कम्पनीले मंसिर ६ गतेदेखि नै आयोजनाबाट विद्युत् उत्पादन तथा प्रसारण प्रणाली परीक्षण गरिरहेकाे हाे ।
आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि निर्माण गरिएको प्रसारण लाइनअन्तर्गत पावर हाउसको स्विचयार्ड (भोटेकोशी गाउँपालिका–२) देखि सुनखानी सबस्टेसन (भोटेकोशी गाउँपालिका–४) हुँदै लामोसाँघु सबस्टेसनसम्म प्रसारण लाइन चार्जिङ गरी परीक्षण गरिरहेकाे कम्पनीले जनाएकाे छ ।
प्रसारण लाइन चार्जिङपछि उक्त लाइन तथा संरचनामा उच्च भोल्टेजको विद्युत् प्रवाह हुने भएकाले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले स्थानीय बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
कम्पनीका अनुसार मंसिर ६ गतेदेखि मंसिर १० गते बिहीबारसम्म प्रसारण लाइनको आसपास घाँस तथा चौपाया चराउने, प्रसारण लाइनका टावर तथा संरचनामा चढ्ने, तार तथा अन्य विद्युतीय संरचनालाई छुने वा नजिक कुनै गतिविधि नगर्न अनुरोध गरिएको छ ।
यस अवधिमा बालबालिका तथा घरपालुवा पशुपन्छीलाई समेत प्रसारण लाइन क्षेत्रबाट टाढा राख्न कम्पनीले आग्रह गरेको छ । विद्युत् सुरक्षासम्बन्धी सम्भावित दुर्घटना न्यूनीकरणका लागि स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन र जिम्मेवार व्यवहार गर्न हिम रिभर पावर लिमिटेडले अनुरोध गरेको छ ।











