काठमाडौँ । कृषि क्षेत्रको विकासका लागि नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता प्रविधिको एकीकरण गरी उत्पादकत्व र दिगोपनामा जोड दिनुपर्ने विज्ञहरूले बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) र नेपाल नविकरणीय ऊर्जा परिसंघ (रिकन) ले २१औँ राष्ट्रिय धान दिवसको अवसरमा ‘नवीकरणीय ऊर्जा र कृषिका लागि ऊर्जा दक्षता’ विषयमा गरेको छलफलमा उपस्थित उद्यमी तथा विज्ञहरूले यस्तो बताएका हुन् ।
अधिकांश नेपाली जनताको मुख्य खाद्यान्नको रुपमा रहेको धान रोप्ने मध्य समय असार १५ लाई मानिन्छ । धान दिवसकै अवसरमा केन्द्रको सभा कक्षमा आयोजित कार्यक्रममा ऊर्जा विज्ञ, सरकारी अधिकारीहरू र वैकल्पिक ऊर्जा प्रवर्द्धनमा सक्रिय निजी क्षेत्रका उद्यमीलगायतका वक्ताहरूले कृषि क्षेत्रमा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता प्रविधिको एकीकरण गरी उत्पादकत्व र दिगोपनामा जोड दिनुपर्नेमा कुरा उठाएका छन् ।
‘आयातित खाद्य पदार्थमा निर्भरता घटाउन र खाद्य सुरक्षा सुनिश्चित गर्न नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग र ऊर्जा दक्षता महत्वपूर्ण छ,’ उनीहरूले औंल्याए ।
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले भने कृषि क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने तथा ऊर्जा दक्षताका उपाय खोज्न निरन्तर छलफल र विचार विमर्श गरिनु आवश्यक रहेको बताए । ‘नवीकरणीय ऊर्जालाई सिँचाइ र बाली व्यवस्थापन बाहेक कृषि उत्पादन ढुवानी र लामो समयसम्म भण्डारण गर्न पनि प्रयोग गर्न सकिन्छ,’ उनले भने ।
उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता ऐन ल्याउन नेपाल सरकारबाट आवश्यक तयारी भइरहेको र यस सम्बन्धी समस्यालाई सम्बोधन गर्न संसदको चलिरहेको बैठकमा यस सम्बन्धी विधेयकमाथि छलफल भइरहेको पनि उल्लेख गरे ।
रिकोनका अध्यक्ष गुणराज ढकालले नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउन नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगको महत्वबारे प्रकाश पारेका थिए । यसैगरी कृषिका लागि नविकरणीय ऊर्जा प्रविधिका सम्बन्धमा केन्द्र र परिसंघको सहकार्य अपरिहार्य भएको उल्लेख गरेका थिए ।
केन्द्रका उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठले कृषिका लागि नविकरणीय ऊर्जा प्रविधि उपयोग गर्न तथा ऊर्जा दक्षताका उपायहरूका लागि केन्द्रले उल्लेखनीय योगदान गर्दै आएको र निजी क्षेत्रका साथ सहकार्य गर्दै कृषि क्षेत्रमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताईन ।
उक्तः अवसरमा शेखर अर्याल, सुशील ज्ञवाली, के आर खनाल, डा.शान्तिकला सुवेदी, सुनिता न्हेमफुकी, सुहृद चापागाईंले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको समापनमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले सम्बन्धित निकायहरूले प्रदेश तथा स्थानिय स्तरमा पनि कृषिका लागि नविकरणीय उर्जा प्रविधि तथा ऊर्जा दक्षता संवन्धि क्षमता अभिवृद्धि र सचेतनाका लागि परिचयात्मक कार्यक्रमहरू सञ्चालन गर्नु उपयुक्त हुने विचार व्यक्त गरे ।
उक्त छलफल कार्यक्रममा इमी बाट शिशिर श्रेष्ठ, प्राक्टिकल एक्सनबाट मिन बिक्रम मल्ल तथा एग्रडाइरेक्टका सुबास श्रेष्ठले सिँचाइका लागि सौर्य ऊर्जाको प्रयोग, नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग र ऊर्जा दक्षताका विषयमा प्रस्तुति दिएका थिए ।
कृषिलाई जलवायु मैत्री तुल्याउन वातावरणीय सन्तुलनका पक्षहरूमा गम्भीर भै कृषि उत्पादन गर्ने प्रविधिको अभ्यास गर्नु हो । यसका लागि सिँचाइमा दक्षता बढाउने र पानीको खपत घटाउने, जैविक खेतीः रासायनिक मल र विषादीको सट्टा जैविक मल र जैविक कीटनाशकको प्रयोग गर्ने, माटोको उर्वरा शक्ति संरक्षण गर्न र भूक्षयलाई रोक्ने, एकै ठाउँमा माटोमा पोषण तत्वहरूको सन्तुलन कायम राख्ने खालका विभिन्न प्रकारका बाली लगाउने, नवीकरणीय ऊर्जा प्रयोगः सौर्य ऊर्जा, वायु ऊर्जा, लघु जलविद्युत, बायोग्यास जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूको उपयोग गर्ने, ऊर्जा दक्षताका उपायहरु अपनाउने, स्थानीय वातावरणमा अनुकूलित भएका र राम्रो उत्पादन हुने स्थानीय जातका बीऊ प्रयोग गर्ने उपायहरुलाई अवलंवलन गर्नु उपयुक्त हुन्छ ।