Saturday, September 21, 2024
spot_img

बझाङ माथिल्लो सेतीको डिपीआर तयार गर्ने जिम्मा प्राइमेसी इन्जिनियरीङलाई

spot_img

Share

spot_img

काठमाडाैँ । बझाङको साइपाल गाउँपालिका–४ मा पहिचान भएको २१६ मेगावाटको बझाङ माथिल्लो सेती आंशिक जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने जिम्मा भारतीय कम्पनी प्राइमेसी इन्जिनियरीङ प्रालिले पाएको छ । समृद्धि इनर्जी लिमिटेडले निर्माण अघि बढाएको आयोजनाको डिपीआर भारतीय कम्पनीले तयार गर्ने भएको छ ।

डिपीआर तयार गर्ने सम्बन्धमा आइतबार (असार २२ गते) सम्झाैता सम्पन्न भएको छ । सम्झौतापत्रमा प्रवर्द्धक कम्पनीका तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाई र प्राइमेसी इन्जिनियरीङको तर्फबाट अध्यक्ष संजय परिदाले हस्ताक्षर गरे । सम्झौता अनुसार इन्जिनियरीङको काम २ वर्षभित्र सम्पन्न गर्नुपर्ने आयोजना संयोजक यज्ञप्रसाद सुवेदीले बताए ।

‘अहिले आयोजनाको निर्माण पूर्व तयारीको काम भइरहेको छ । विद्युत् खरिद समझौता (पिपिए) सम्पन्न भइसकेको छ । उत्पादन अनुमति जारी भइसकको छ,’ उनले ऊर्जा संचारसँग भने, ‘२ देखि ३ महिनाभित्र वित्तीय व्यवस्थापन पनि सम्पन्न गर्ने लक्ष्य छ ।’

आयोजनाकाे विवरण

आयोजनाको मुख्य भौतिक संरचना बझाङको साइपाल गाउँपालिका ४ र ५ मा बाँध रहने गरी अन्य सबै संरचना सेती नदीको बायाँ किनारमा रहनेछन् । आयोजनाका लागि आवश्यक पानी फर्काउन सेती नदीमा ४८ मिटर लम्बाइ र १४ मिटर उचाइको बाँध निर्माण गरिनेछ । उक्त बाँधको धुरीको उचाइ २.७७३ मिटर रहनेछ ।

कम्पनीले तयार पारेको प्रतिवेदन अनुसार आयोजना साइपाल गाउँपालिकाको वडा नम्बर ४ र ५ भई बग्ने सेती नदीको दाँया र बाँया किनारमा रहनेछ । आयोजनाको हेडवक्र्स इन्गल्दर खोला र सेती खोलाको संगमबाट १०० मिटर तल प्रस्ताव गरिएको छ । त्यस्तै आयोजनाको विद्युतगृह सेती खोलाको बाँया किनारको ३०० मिटर माथि रामु खोला र सेती खोलाको संगममा प्रस्ताव गरिएको छ ।प्रस्तावित आयोजनामा मूख्य संरचनाहरूमा डाइभर्सन, इन्टेक, ग्राभेल ट्रयाप, डिसेन्डिङ बेसिन, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक, पावरहाउस, टेलरेस क्यानल, स्वीचयार्ड रहेका छन् ।

अनुमानित लागत साढे ४१ अर्ब

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार आयोजना निर्माण सम्पन्न गर्न ४४ अर्ब ५१ करोड ६० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । यसका आधारमा प्रतिमेगावाट लागत २० करोड ६० लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । आयोजना वित्तीय व्यवस्थानकाे काम ३ महिनाभित्र गर्ने गरी काम भइरहेकाे जनाइएकाे छ । आयोजनामा सिउरी न्यादी पावर लिमिटेड, न्यादी ग्रुप पावर लिमिटेड, सगरमाथा जलविद्युत कम्पनी लगायतका जलविद्युत कम्पनीहरू सेयर हाेल्डर छन् ।

उत्पादन अनुमति

कम्पनीले विद्युत् विकास विभागबाट जेठ १४ गते उत्पादन अनुमति पाएको हो । कम्पनीले आयोजनाको उत्पादन अनुमतिका लागि २०८० साउन १२ गते विभागमा आवेदन पेश गरेको छ । विद्युत् विकास विभागबाट २०७५ साउन १५ गते अध्ययन अनुमति लिएर प्रक्रिया अघि बढाएको थियो ।

वार्षिक ऊर्जा

आयोजना पूरा भएपछि वार्षिक १२२९.६ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । अफपिक समयको सुख्खायाममा २३१.४७ गिगावाट, पिक समयमो सुख्खायाममा १६३.६४ गिगावाट र वर्षायाममा ८३४.४९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।

पिकिङ जलाशय

सेती खोलाको ३४.१० घनमिटर प्रतिसेकेण्ड पानीलाई थुनेर ४.५ घण्टा पिकिङ क्षमता रहने गरी डिजाइन गरिएको यस आयोजनाको ग्रस हेड र रेटेड नेट हेड क्रमशः ७५८.९ र ७३५.६ मिटर रहने छ । प्रस्तावित आयोजनाको पिकिङ जलाशय पूर्ण रूपमा भरिनको लागि सुख्खा मौसममा १२ घण्टा समय लाग्नेछ र बाँकी ८ घण्टा नदी प्रवाह आयोजनाको रूपमा चल्ने छ ।

हेडरेस टनेल

आयोजनाका लागि प्रस्तावित हेडरेस टनेलको लम्बाइ ८९६३ मिटर हुनेछ । टनेलको निर्माण कार्य तिव्र बनाउनका लागि ६ वटा अडिटहरू रहनेछन् । यसैगरी, २०६९ मिटर लामो पेनस्टक शाफ्ट रहने छ ।

आयोजनाका लागि आवश्यक जग्गा र जनशक्ति

आयोजनाका स्थायी र अस्थायी संरचनाहरू साईपाल गाउँपालिकाको सामुदायिक वन र सरकारद्धारा व्यवस्थित वनमा प्रस्ताव गरिएको छ । यस आयोजनाका लागि स्थायी रूपमा ३६.१७९ हेक्टर र अस्थायी रूपमा ३७.५५५ हेक्टर गरी कूल ७३.७३४ हेक्टर जग्गा आवश्यक पर्नेछ ।

आयोजनाको कार्यान्वयनका लागि ९० जना दक्ष, १४० जना अर्धदक्ष र २७० जना अदक्ष गरी ५०० जनशक्ति प्रतिदिन आवश्यक पर्दछ । यसैगरी, सञ्चालन चरणमा ३४ दक्ष, ६ अर्धदक्ष र ९ अदक्ष गरी कुल ४९ जनशक्ति प्रतिदिन आवश्यक पर्दछ ।

आवश्यक वन

आयोजना निर्माण हुने ठाउँ इङ्गल्दार र सेती खोलाको वरिपरी ५८.१५ हेक्टर वन नोक्सान हुनेछ । २८.८० सरकारी र १२.५५ सामुदायिक वन गरी ४१.२५ हेक्टर वन स्थायी संरचनाका लागि मासिनेछ । १.४० हेक्टर सरकारी र १५.४० सामुदायिक वन गरी १६.८० हेक्टर अस्थायी संरचनाका लागि वन मासिने कम्पनीले जानकारी दिएको छ । परियोजना निर्माणका क्रममा मासिने रूख बिरूवाको सट्टामा ५४ हजार बिरूवा वरिपरि रोपिने कम्पनीले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img