काठमाडाैँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको मानवीय क्षतिप्रति अपि पावर ग्रुपले दुःख व्यक्त गर्दै विपद् प्रभावितका लागि ३५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । अपि पावर ग्रुपले नेपाल सरकारको राहत कोषमार्फत ३५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने जनाएको हो ।
समूहले बाढी–पहिरोमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
प्राकृतिक विपत्तिबाट सिर्जित कठिन परिस्थितिमा नागरिकको जीवन रक्षा, राहत तथा पुनर्स्थापनामा सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै अपि पावर ग्रुपले आफ्नो सहयोगले संकटमा परेका परिवारलाई तत्काल राहत तथा पुनःस्थापनामा केही टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।
विपद्को समयमा एक–अर्काको सहारा बन्नु नेपालीको पहिचान भएको भन्दै समूहले संकटको सामना गर्न सबैलाई एकजुट हुन आह्वानसमेत गरेको छ ।











