काठमाडाैँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ४३१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर गएको छ । बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट करिब ४०६ मेगावाट र २५ मेगावाट क्षमताको सौर्य आयोजनाबाट उत्पादित विद्युत् प्रणालीबाट विच्छेद भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
भोटेकोशी नदीमा बुधबार बिहान तिब्बततर्फबाट एक्कासि ठूलो बाढी आएको थियो । बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा विद्युत् आयोजनाका संरचनामा क्षति पुगेको छ । बाढीले त्रिशूली र देवीघाट जलविद्युत् आयोजनासमेत प्रभावित भएको तथा २५ मेगावाट क्षमताको सौर्य प्लान्टका तीनवटा ब्लक र सबस्टेसनमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ ।
बाढीका कारण विद्युत् आयोजनाका उत्पादन गृह, सबस्टेसन तथा अन्य संरचनामा क्षति पुगेपछि ती आयोजनाबाट विद्युत् उत्पादन तथा प्रसारण प्रभावित भएको हो ।
यसअघि पनि भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति हुँदै आएको छ । गत वर्षको बाढीमा समेत रसुवागढी, त्रिशूली–३ ‘ए’, त्रिशूली, चिलिमेलगायतका आयोजनाको उत्पादन प्रभावित भएको थियो ।











