Friday, August 28, 2026
spot_img

तिब्बततर्फबाट आएको बाढीले रसुवामा तहसनहस, जलविद्युत् आयोजनामा ठूलो क्षति

spot_img

Share

spot_img

काठमाडाैँ । तिब्बततर्फबाट आएको अचानकको ठूलो बाढीका कारण रसुवाको भोटेकोशी नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ । बुधबार बिहान करिब ९ बजेको समयमा आएको बाढीले टिमुरे बजारसहित नदीको तल्लो तटीय क्षेत्रमा रहेका बस्ती तथा जलविद्युत् आयोजनामा क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी अत्यन्तै अचानक आएको हो । उनले बाढीका कारण धेरै क्षेत्रमा क्षति पुगेको र तल्लो तटीय क्षेत्रमा रहेका जलविद्युत् आयोजनासमेत बगेको जानकारी आएको बताए ।

‘अकस्मात् बाढी आयो । धेरै थोक नोक्सान भएको छ,’ प्रमुख जिल्ला अधिकारी परियारले भने, ‘तल्लो तटमा हाइड्रोका आयोजनाहरूमा ठुलाे क्षति पुर्याएकाे छ । बस्तीमा पनि बाढी पसेको छ । धेरै कुरामा क्षति भएको छ ।’

बाढीका कारण रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्रसहित विभिन्न वितरण संरचनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । प्राधिकरणले विद्युत् आपूर्ति नियमित गर्न हरसम्भव प्रयास गरिरहेको जनाएको छ । आपूर्ति नियमित नहुन्जेलसम्म धैर्य गरिदिन तथा सोसम्बन्धी सूचना प्रवाह गरिदिन प्राधिकरणले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार बाढीका कारण प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा सर्वसाधारणको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालन हुन अनुरोध गरिएको छ ।

बाढीको जोखिम अझै कायम रहन सक्ने भन्दै नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका राष्ट्रसेवक, प्राधिकरणका कर्मचारी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। थप जोखिम देखिएमा सुरक्षित स्थानतर्फ स्थानान्तरण हुनसमेत अनुरोध गरिएको छ ।

रसुवागढी हाइड्रो पावर कम्पनीले यसअघि बाढीसम्बन्धी पूर्वसूचना प्रणाली स्थापना गर्ने योजना अघि सारे पनि उक्त प्रणाली सञ्चालनमा आउन सकेको थिएन । पूर्वसूचना प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेको अवस्थामा अचानक आएको बाढीले परियोजनामा ठूलो क्षति पुर्याएको छ ।

स्थानीय क्षेत्रमा ठूलो वर्षा नभए पनि तिब्बततर्फबाट बाढी आएको देखिएकाले नदीमा पानीको बहाव अचानक बढेको हुनसक्ने अनुमान गरिएकाे छ । रसुवा क्षेत्रमा बाढी आउने गरी वर्षा भएको छैन ।

बाढीले विशेषगरी टिमुरे बजार क्षेत्र र भोटेकोशी नदीको तल्लो तटीय भागमा रहेका संरचनामा क्षति पुर्याएको छ । बाढीबाट मानवीय तथा भौतिक क्षतिको यकिन विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img