काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो कार्यकालका प्रमुख उपलब्धिहरूको बारेमा चर्चा गर्दै आगामी १० वर्षमा भारतलाई १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन सम्झौतालाई सबैभन्दा महत्वपूर्ण सफलता ठहर गरे । आइतबार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा मन्त्री बस्नेतले यस्ताे बताएका हुन् ।
नेपालको ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्याएकाे बताउँदै मन्त्री बस्नेतले ऊर्जा क्षेत्रको उल्लेखनीय प्रगतिले नेपालको आर्थिक समृद्धिका लागि ठोस आधारशिला तयार गरेको बताए । उनले ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन र डेढ दर्जनभन्दा बढी सबस्टेसन तथा प्रसारण लाइनहरूको सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।
ऊर्जा मिश्रण अवधारणाअनुसार ८०० मेगावाट क्षमताको सौर्य परियोजनालाई प्रतिस्पर्धाका आधारमा अगाडि बढाइएको छ । राष्ट्रिय गौरवका आयोजनाहरूलाई गति दिन र सञ्चालनमा रहेका सिँचाइ आयोजनाको क्षमता विस्तार गर्न मन्त्री बस्नेतको नेतृत्वमा उल्लेखनीय काम भएको छ ।
ऊर्जा विकास कार्ययोजना, माथिल्लो अरुण, र दूधकोसी जस्ता महत्वपूर्ण आयोजनाहरू अन्तिम चरणमा पुर्याइएको जानकारी दिँदै मन्त्री बस्नेतले आगामी दिनमा पनि ऊर्जा क्षेत्रको विकासमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।