काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारीमा नेपाली कांग्रेसका नेता दिपक खड्का आएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री पद र गोपनियताका शपथ ग्रहण गर्दै २२ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् ।
जसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारीमा खड्का र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा ऐनबहादुर शाही ठकुरी आएका छन् । ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवार पाएका खड्का यसअघि २०७३ सालमा खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत भइसकेका छन् । उनी १२० मेगावाट क्षमताको निर्माणाधीन परियोजना लाङटाङ–भोटेकोसी जलविद्युत्, ४.७२ मेगावाटको मेन्छियाम जलविद्युत् आयोजनाका प्रवर्द्धक पनि हुन् ।
प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीच असार १७ गते भएको सहमतिसँगै नयाँ मन्त्रीमण्डल गठन भएको हो ।