काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणको सहायक रघुगंगा हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको हो ।
आयोजनाको पहिलो र दोस्रो अडिट जोड्ने २ हजार ३३२ मिटर लामो सुरुङको काम अन्तिम चरणमा पुगेको कम्पनीले जानकारी दिएको छ । रघुगंगा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधबाट वडा नम्बर ३ अँधेरीखोलाको दोस्रो अडिट जोड्ने १३ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाका व्यवस्थापक राजबहादुर विष्टले बताए ।
६ हजार २०० मिटरमध्ये ६ हजार १८७ मिटर सुरुङ निर्माण भएको छ । अबको केही दिनमा मुख्य सुरुङ खन्ने काम सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।
३ हजार ८३६ मिटर लामो दोस्रो र तेस्रो नम्बर अडिटको सुरुङ गत फागुनमा छिचोलिएको थियो । रघुगङ्गा गाउँपालिका–३ पिप्लेस्थित मुख्य सुरुङको आउटलेट (अन्तिम विन्दु) बाट तिल्केनीचौरमा निर्माणाधीन विद्युतगृहमा पानी खसाल्ने पाइप लाइन राख्ने १ हजार ४९ मिटर लामो ‘प्रेसर साफ्ट’ सुरुङ गत जेठ महिनामा जोडिएको थियो ।
मुख्य सुरुङबाट आउने पानीलाई विद्युतगृहमा लैजाने पाइप लाइन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो । पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’ निर्माण भएको छ ।
भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्ससँग २०७४ मङ्सिरमा सम्झौता भएको थियो ।
विसं २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाइएको छ । इलेक्ट्रोमेकानिकलतर्फको भौतिक प्रगति २२ प्रतिशत छ ।
रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युतगृहको संरचना निर्माण तीव्रताका साथ भइरहेको छ ।
घुमाउने तालबाट ११ किलोमिटर पहुँचमार्ग र एकवटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युतगृह र बाँधलाई सिधा सडकले जोडिएको छ । कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो ।