काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई ४ उद्योगीले ट्रंक एण्ड डेडिकेटेड लाइन प्रयोग गरेवापतको प्रिमियम सहितको महसुल बुझाएका छन् । प्राधिकरण र उद्योगीहरूबीच यसै विषयमा विवाद चलिरहेका बेला यी उद्योगले भने बक्यौतो तिरेका छन् ।
प्राधिकरणका अनुसार सोना प्याकेजिङ, सोना पोलिमर्स, यशोदा फुड्स, जयदुर्गा प्लास्टिकले २०७२ माघदेखि २०७५ बैशाखसम्मको बक्यौता तिरेका हुन् । सोना प्याकेजिङले २ लाख ८४ हजार, सोना पोलिमर्सले २ लाख ७७ हजार, यशोदा फुड्सले ३ लाख ४० हजार र जयदुर्गाले ७० हजार ५ सय ३२ रुपैयाँ बक्यौता तिरेको प्राधिकरणले जानकारी दिएको छ । यो बक्यौतामा २५ प्रतिशत थप जरिवाना समेत उद्योगहरुले तिरेका छन् ।
विवाद चलिरहेकै बेला यी उद्योगले बक्यौता तिरे पनि अरु उद्योगीहरूले टाइम्स अफ डे मिटरिङ (टिओडी) मिटरको रेकर्ड नभएको भन्दै तिर्न अस्वीकार गर्दै आएका छन् ।
प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र पठाएको थियो । असार ९ गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको हो । उद्योगीहरुले बक्यौता तिर्न नमानेपछि लाइन काट्न थालेको थियो । प्राधिकरणले लाइन काटेपछि विद्युत् नियमन आयोगले लाइन जोड्न निर्देशन दियो । त्यसपछि प्राधिकरणले लाइन जोडेको छ । अहिले यो विवाद प्रतिनिधी सभा अन्तर्गतको लेखा समितिमा छ ।
प्राधिकरणले गत मंसिरमा पनि ६१ उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको भन्दै २४ उद्योगको बिजुली काटेको थियो । सरकारले भने आयोग बनाएर विवादको समाधान निकाल्ने बताएसँगै २० दिनपछि उद्योगमा बिजुली जोडिएको थियो । सोही आयोगको प्रतिवदेनअनुसार प्राधिकरणले उद्योगीहरूलाइ बक्यौता तिर्न पत्राचार गरेको हो ।