Sunday, January 19, 2025
spot_img

कार्बन तटस्थता हासिल गर्न कोप-२९ मा हाइड्रोजनलाई महत्वपूर्ण अवयवको रूपमा प्रवर्द्धन गरिने

spot_img

Share

spot_img

काठमाडौँ । हाइड्रोजनले विश्वव्यापी दीगोपन लक्ष्यहरूप्रति नेपालको प्रतिवद्धता पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यस सम्बन्धि आगामी कोप २९ सम्मेलनमा कार्बन तटस्थता हासिल गर्न हाइड्रोजनको प्रयोगलाई महत्वपूर्ण अवयवको रुपमा प्रवर्द्धन गरिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हरित हाइड्रोजनको भविष्यबारे काठमाडौँ विश्वविद्ययालय (केयू) का प्रतिनिधिहरुसँग छलफलमा यस्तो बताएका हुन् । छलफलमा हरित हाइड्रोजनको विकासको वर्तमान अवस्था र भविष्यका सम्भावनाहरू तथा विश्वव्यापी अभ्यासहरूसँग नेपालको प्रयासहरुलाई मिलाउनको लागि चाहिने एक रणनीतिक मार्गचित्र समावेश गरिएको थियो ।

केयूको तर्फबाट सहप्रध्यापक डा.बिराजसिंह थापाले नेपालमा हरित हाइड्रोजन अनुसन्धान र विकासमा भएको प्रगतिका बारे प्रस्तुत गर्दै नेपालको जलस्रोतहरूको प्रचुरता र जलविद्युतबाट उत्पन्न अतिरिक्त विद्युतबाट हुन सक्ने भावहरु बारे जानकारी गराए । त्यस्तै, हिमालयको शुद्ध पानी प्रयोग गरी नेपालमा संसारकै सस्तो हरित हाइड्रोजन उत्पादन गर्न सकिने र यसले नेपाललाई विश्वव्यापी हाइड्रोजन अर्थतन्त्रमा प्रमुख खेलाडीको रूपमा स्थान दिन सक्ने कुरामा उनले जोड दिएका छन् ।

यसका अतिरिक्त, डा.राम लामाले हाइड्रोजनको महत्व र यसले जीवाश्म इन्धनको प्रयोगलाई घटाउन कस्तो भूमिका खेल्न सक्छ भन्ने बारेमा जनचेतना जगाउन विश्वविद्यायले केही पहल गरिसकेको बताए । तर अब नेपाल सरकारले यस क्षेत्रमा अनुसन्धान र विकासका लागि तथा यस क्षेत्रसँग सम्बन्धित अग्रगामी व्यवसाय थालनी गर्नको लागि बजेट विनियोजन गर्नुपर्ने कुरामा जोड दिए ।

यस बैठकमा हरित हाइड्रोजन उद्योगलाई समर्थन गर्न, हरित हाइड्रोजन नीति, २०८० ले परिकल्पना गरे अनुसार एक अधिकार सम्पन्न संस्था स्थापना हुनु पर्ने र सो संस्थाले आवश्यक नीतिगत व्यवस्था गर्नु पर्ने कुरामा समेत छलफल भएको थियो । विज्ञहरुले यस्तो संस्था स्थापना भए पश्चात मात्र हरित हाइड्रोजन क्षेत्रको विकास हुन सक्ने बताएका छन् । यसबाट नयाँ आर्थिक अवसरहरु सिर्जना हुने र नेपालको दिगो विकासका लक्ष्यहरुलाई समर्थन गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपतिले छलफलमा गहिरो चासो व्यक्त गर्दै हाइड्रोजनले विश्वव्यापी दिगोपन लक्ष्यहरुप्रति नेपालको प्रतिबद्धतालाई पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यस सम्बन्धि आगामी कोप २९ सम्मेलनमा कार्बन तटस्थता हासिल गर्न हाइड्रोजनको प्रयोगलाई महत्वपूर्ण अवयवको रुपमा प्रवद्र्धन गर्ने बताए । उनले नेपालको दिगो भविष्यप्रतिको प्रतिबद्धता औल्याउँदै हाइड्रोजन प्रविधिको विकासमा अन्य राष्ट्रहरुसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, सचिव नारायणप्रसाद शर्मा दुवाडीले राष्ट्रपति कार्यालयले समन्वयकारी निकायको रुपमा सक्रिय भूमिका निर्वाह गर्दै हाइड्रोजन क्षेत्रको विकासका लागि आवश्यक सहयोग सुनिश्चित गर्न सम्बद्ध मन्त्रालयहरु र अधिकारीहरुसँग समन्वय गर्ने बताए ।

राष्ट्रको शिर्ष कार्यालयबाट भएको यो समर्थननाई हरित हाइड्रोजन क्षेत्रमा थप विकासको लागि एक बलियो प्रेरणाको रुपमा हेरिएको छ । विज्ञहरुले यो बैठकलाई नेपालको ऊर्जा क्षेत्रमा एक महत्वपूर्ण क्षणका रुपमा लिएका छन्, जसले दिगो र नवप्रवर्तनीय ऊर्जा समाधानतर्फको यात्रामा एउटा निर्णायक कदमको संकेत गर्दछ । उचित नीति र रणनीतिक पहलहरुसँगै, नेपालले आफ्नो प्राकृतिक स्रोतहरुलाई उपयोग गरेर हरित हाइड्रोजन उत्पादनमा शिर्ष स्थान बनाउन सक्ने र यसबाट राष्ट्रिय र क्षेत्रीय साझेदारहरुलाई लाभ पुर्याउने राम्रो सम्भावना देखिन्छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img