Friday, November 20, 2026
spot_img

सुख्खायाममा आपूर्ति सहज बनाउन भारतबाट १५० मेगावाट विद्युत खरिद गर्ने प्रक्रिया अघि बढाउदै प्राधिकरण

spot_img

Share

spot_img

काठमाडौं । आगामी सुख्खायाममा विद्युत आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ। प्राधिकरणले जनवरी २०२७ देखि मे २०२७ सम्म विद्युत आयात गर्ने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको हो।

यसका लागि भारतका अनुमतिप्राप्त विद्युत व्यापारिक कम्पनीहरूसँग प्रतिस्पर्धात्मक दरमा विद्युत खरिद गर्न बोलपत्र माग गर्ने प्रस्ताव अघि बढाउने प्राधिकरण सञ्चालक समिति छ। प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार प्राधिकरणले १५० मेगावाट विद्युत चौबिसै घण्टा अर्थात् राउन्ड द क्लक (आरटीसी) मोडमा खरिद गर्ने योजना बनाएको छ।

पछिल्ला दुई–तीन वर्षदेखि सुख्खायाममा आन्तरिक उत्पादनले माग धान्न नसक्दा नेपालले भारतको विद्युत् पावर एक्सचेन्ज (आईईएक्स) को डे अहेड मार्केट (डीएएम) तथा रियल टाइम मार्केट (आरटीएम) बाट विद्युत खरिद गर्दै आएको छ। यस वर्ष भने भोटेकोशी नदीमा आएको हिमबाढीका कारण विद्युत आयोजनाहरूमा थप क्षति पुगेपछि आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। बाढीका कारण निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाको करिब ४३० मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको छ।

नेपाल विद्युत प्राधिकरणको विद्युत व्यापार विश्लेषण समितिले २०८३ भदौ २५ गते गरेको निर्णयअनुसार आगामी जनवरीदेखि मेसम्म १५० मेगावाट विद्युत आरटीसी मोडमा खरिद गर्न व्यवस्थापनसमक्ष सिफारिस गरेको थियो। समितिले आवश्यकताअनुसार थप विद्युत भारतीय पावर एक्सचेन्जबाट खरिद गर्ने र अप्रिल तथा मे महिनामा माग बढ्ने भएकाले त्यसबेलाको आपूर्ति–माग अवस्था तथा भारतीय बजारमा उपलब्ध विद्युतको क्षमताका आधारमा थप खरिदको निर्णय लिनुपर्ने निष्कर्ष निकालेको थियो।

आगामी सुख्खायामसम्म राष्ट्रिय प्रणालीमा करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजनाहरू जोडिने अपेक्षा गरिएको छ। तर, नदीको बहाव घट्ने भएकाले ती आयोजनाबाट सुख्खायाममा करिब ९० मेगावाट मात्रै विद्युत उत्पादन हुने अनुमान छ। यसले आन्तरिक उत्पादनबाट माग व्यवस्थापन गर्न थप कठिन हुने देखिएको छ।

प्राधिकरणले १५० मेगावाट विद्युत खरिदका लागि भारतीय तीन कम्पनीसँग दररेट प्रस्ताव माग गरेको थियो। प्राप्त प्रस्तावमध्ये एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतियुनिट ६ रुपैयाँ ९० पैसा भारतीय रुपैयाँ, मनिकरण इनर्जी लिमिटेडले ८ रुपैयाँ ५० पैसा र एसजेभीएन लिमिटेडले ९ रुपैयाँ दर प्रस्ताव गरेका थिए।

सबैभन्दा कम दर प्रस्ताव गर्ने एनटीपीसी ट्रेडिङ कर्पोरेसनलाई प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार असोज १६ गते आशयपत्र (एलओआई) जारी गरिएको थियो। उक्त कम्पनीलाई असोज २९ गते विद्युत खरिद सम्झौताका लागि बोलाइएकोमा कम्पनीले असोज ३० गते पत्र पठाउँदै प्रस्तावित दरमा सम्झौता गर्न नसक्ने जानकारी गराएको थियो।

कम्पनीले भूराजनीतिक अनिश्चितता, कोइला तथा अन्य इन्धनको मूल्यमा भएको वृद्धि, विश्वव्यापी मौसम परिवर्तन तथा एल निनो प्रभाव र भारतभित्रै बढ्दो विद्युत मागलाई कारण देखाउँदै प्रतियुनिट ६ रुपैयाँ ९० पैसामा दिन नसक्ने भन्दै पुरानो प्रस्ताव पुनरावलोकन गर्नुपर्ने जनाएको छ।

यसैबीच, भारतीय विद्युत बजारको डे अहेड मार्केटमा असोज २०८३ को औसत बजार समायोजन मूल्य (एमसीपी) प्रतियुनिट ११ रुपैयाँ ७४ पैसा नेपाली रुपैयाँ अर्थात् ७ रुपैयाँ ३४ पैसा भारतीय रुपैयाँ पुगेको छ। यसले अघिल्लो प्रस्तावित दरमा विद्युत खरिद सम्झौता हुन नसकेको अवस्थालाई थप जटिल बनाएको छ।

प्राधिकरणले पुरानो दरमा सम्झौता हुन नसकेको र आगामी सुख्खायाममा विद्युतको माग तथा आपूर्तिबीचको अन्तर बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउन लागेको हो। अन्तर्राष्ट्रिय बोलपत्रमार्फत विभिन्न भारतीय विद्युत व्यापारिक कम्पनीबाट प्रस्ताव प्राप्त गरी तुलनात्मक रूपमा प्रतिस्पर्धी दरमा विद्युत खरिद गर्ने प्राधिकरणको योजना छ।

सुख्खायाममा आन्तरिक उत्पादन घट्ने र विद्युतको माग बढ्ने भएकाले समयमै आयातको व्यवस्था मिलाउन सके आपूर्ति जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणको निष्कर्ष छ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img