काठमाडौ । संखुवासभा र भोजपुर जिल्लामा निर्माणाधीन ४७.१ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत आयोजनाको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। संखुवाखोलाको पानी उपयोग गरी गुराँस हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको यस आयोजनाले पूर्वी नेपालमा ऊर्जा उत्पादनसँगै स्थानीय विकास र रोजगारीमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आयोजनाको प्रस्तावित लागत ८ अर्ब २० करोड रुजपैयाँ रहेको छ। आयोजनाको हेडवर्क्स संखुवासभाको साल्पासिलिचोङ गाउँपालिका वडा नं. १, २ र ३ अन्तर्गत बुधबारे क्षेत्रमा निर्माण भइरहेको छ। सङ्खुवा खोला र सिसुवा खोलाको संगमस्थलमा बाँध निर्माण गरी करिब ६ हजार ४०० मिटर लामो सुरुङमार्फत पानी विद्युत् गृहमा पुर्याइने आयोजना संरचना रहेको छ।
विद्युत् गृह भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा नं. १ र २ अन्तर्गत बेखुवा क्षेत्रमा निर्माण भइरहेको छ। उत्पादित विद्युत् अरुण नदीमा छोड्ने गरी आयोजना संरचना तयार पारिएको छ।
प्रभावित परिवारलाई संस्थापक शेयर
आयोजनाबाट प्रभावित क्षेत्रका ४२२ परिवारलाई न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको संस्थापक शेयर प्रदान गरिएको छ। गुरास हाइड्रो लिमिटेडका कार्यकारी अध्यक्ष शिवप्रसाद घिमिरेले आज आयोजित एक समारोहबीच प्रभावित परिवारलाई शेयरसम्बन्धी प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

शेयर हस्तान्तरण कार्यक्रममा अध्यक्ष घिमिरेले आयोजना स्थानीय क्षेत्रका साथै समग्र देशको ऊर्जा विकासका लागि महत्वपूर्ण रहेको बताए। उनले आयोजना निर्माणमा प्रभावित क्षेत्रका बासिन्दा, स्थानीय समुदाय तथा सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सहयोग र सहकार्यले आयोजना अघि बढाउन सहज भएको बताए।
निर्माणमा करिब ७०० जनाको संलग्नता
आयोजना निर्माणमा हाल प्राविधिक, निर्माण कर्मचारी, सुरक्षा निकाय तथा नेपाल प्रहरी र नेपाली सेनासहित करिब ७०० जनाको संलग्नता रहेको जनाइएको छ। आयोजनाको निर्माणले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै आर्थिक गतिविधि विस्तारमा समेत टेवा पुर्याएको छ।
५० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले आगामी दिनमा निर्माणलाई थप तीव्रता दिँदै विद्युत् उत्पादनको लक्ष्य हासिल गर्ने दिशामा काम अघि बढाइरहेको छ।
४७.१ मेगावाट क्षमताको गुरास हाइड्रो आयोजना सञ्चालनमा आएपछि संखुवासभा र भोजपुरको ऊर्जा विकास, स्थानीय अर्थतन्त्र तथा राष्ट्रिय विद्युत् उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा











