काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको बाह्रबीसेमा निर्माणाधीन १०२ मेगावाटकाे मध्यभोटेकोसी जलविद्युत् आयोजनाकाे काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । आयोजनाको विद्युतगगृह र सवस्टेसनको स्थलगत निरीक्षण गर्दै उनले २ महिनाभित्र विद्युत् उत्पादन हुनेगरी निर्माण प्रकृिया अघि बढाउन निर्देशन दिएका हुन् ।
आयोजना निर्माणका क्रममा देखिएको समस्या समाधानमा मन्त्रालयले काम गर्ने आश्वासन दिँदै दिनरात नभनी आयोजना सम्पन्न गर्न लाग्न अनुराेध गरे । ऊर्जामन्त्री खड्काले मध्यभोटेकोसी जलविद्युत् आयोजना चाँडो सम्पन्न गर्नसके देशले आर्थिक उन्नतिका क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने बताए ।
मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मन्त्रालयका सहसचिव सन्दीप देवलगायतले पावरहाउस तथा सवस्टेसनको निरीक्षण गरेका थिए ।
चिलिमे जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणको मुख्य लगानी तथा जनताको सेयर रहेको उक्त आयोजनाको लागत २० अर्बभन्दा बढी रहेको छ । कूल १०२ मेगावाट क्षमताको उक्त आयोजना सन् २०१२ बाट निर्माण सुरु भएको थियो ।