काठमाडाैँ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ । गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो ।
साङ्तामा तत्काल केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्ने सम्भावना नभएपछि सौर्य ऊर्जा जडान गरिएको मुक्तिक्षेत्र–५ का वडासदस्य छिरिङपासाङ गुरुङले बताए । ४४ लाख रुपैयाँ बजेटमा १० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरि यसबाट१३ घर लाभान्वित भएकाे जनाइएकाे छ ।
स्थानीयवासीले उज्यालोका लागि यसअघि घरघरमा थोरै क्षमताको सोलार सेट जडान गरेका थिए । गाउँ नजिकैको डाँडामा सोलारका प्यानल राखिएका छन् । सोलार प्यानल नजिकै घर बनाएर ब्याट्री भण्डारण गरेर राखिएको छ ।
साङ्तालाई मुस्ताङको कान्छो गाउँका रूपमा चिनिन्छ । १० वर्षअघि सडक सुविधा पुुगेको साङ्तामा हालै एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण गरिएको छ ।