काठमाडाैँ । सोमबार काठमाडौँको सितापाईलास्थित विद्युतीय सवारी चार्जिङ स्टेसन नजिकै पार्किङ गरेर राखिएको सेरेस ब्राण्डको विद्युतीय गाडीमा अचानक आगलागी भयो । विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा पार्किङ गरेर राखिएको बागमती प्रदेश ०२–०२९ च ५९५० नम्बरको इभी एसयूभीमा एक्कासी आगलागी भएको हो । प्रारम्भिक अनुसन्धानको क्रममा सो कारमा तार सर्ट भएर आगलागी भएको ठहर भएको छ ।
गत असारमा यही सेरेस ब्राण्डको इभी गाडीमा ब्रेक, रेन्च, पिकअप र स्टेरिङमा समस्या देखिएपछि ग्राहकले गाडी फिर्ता गरेका थिए । ग्राहक रुष्ट भएपछि सेरेस ब्राण्डका आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले ग्राहकबाट आधा दर्जन बढी गाडी फिर्ता लिएको थियो । एमएडब्लु वृद्धिले २०८० भदौमा सेरेस मिनी इभीका ३ भेरियन्ट नेपाल भित्र्याएको थियो । कम्पनीले दाबी गरेअनुसारको रेन्च नदिएपछि ग्राहक रुष्ट बनेका थिए । आज आगलागी भएको गाडीमा पनि त्यही ब्याट्री मूख्य कारण रहेको ठहर भएको छ ।
नेपालमा पछिल्लो समय लोकप्रिय भइरहेको इभीमा अचानक आगो लाग्ने क्रम बढी रहेको छ । विद्युतीय कारप्रति मानिसहरूको आकर्षण ह्वातै चुलिएको बेला पुनःअर्को दुर्घटना भएको छ । यसअघि (२०८० पुस १८ गते) काठमाडौँको बुढानीलकण्ड नगरपालिकामा चार्जिङमा राखिएको एमजी मोटर्स कम्पनीको जेडएस इभीमा पनि आगलागी भएको थियो । साँझ ६ बजे चार्जमा राखिएको उक्त गाडीमा राति १ बजे आगलागि भएको थियो ।
विश्वका विभिन्न मुलुकमा गाडीभित्रको आन्तरिक गडबडीले आगलागी बढेपछि बिक्री वितरण नै बन्द गरिएको यो एमजी इभीको प्राविधिकरूपमा देखिएको समस्या समाधान नगरी बिक्रीवितरण गर्न दिँदा आम नागरिकको जिउधनको क्षतिको जोखिम बढाएको छ । गत असार १८ गते पनि काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमनतर्फको भन्सार गेटनजिक बागमती प्रदेश ०१–०२७ च १५९० नम्बरको एमजी ब्राण्डको कार ब्याक गर्ने क्रममा नियन्त्रण बाहिर भई अर्को गाडीसँग ठोकिँदा एयरब्याग समेत नखुलेर कारमा सवार पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानकी जीवनसँगीनी विद्या वनमाली प्रधान गम्भीर घाइते भएकी थिइन् ।
इभीको यस्ता घटनाहरू बढ्ने क्रमसँगै पेट्रोलियम गाडीमा पनि गुड्दागुड्दै, पार्किङमा राखेको बेला वा जुनसुकै बेला आगलागी हुनेको संख्या उच्च छ । गत शनिबार मात्रै सातदोबाटो चोकमा गुड्दै गरेको पेट्रोलियम बस (महानगगर) मा एक्कासी आगलागी भयो । यसैगरी, असोज २४ गते दोलखाको किरातीछापमा गुड्दै गरेको बसमा एक्कासी आगो बल्न थाल्यो ।
विद्युतीय गाडीमा आगो लाग्ने घटना दूर्लभ र पेट्रोलियम गाडीहरूको तुलनामा कम भएपनि यसको जोखिमको हिसाबले भने धेरै हुने देखिन्छ । अहिले विश्वभरका सडकमा ३ करोडभन्दा बढी विद्युतीय गाडी गुडिरहेका छन् । जसमा इभी फाइरसेफको प्रतिवेदन अनुसार २०२४ जुनसम्ममा ५११ वटा विद्युतीय गाडीमा आगलागी भएको छ ।
९ महिनाअघि मात्रै मलेसियामा मर्सिडिज बेन्जको विद्युतीय गाडीमा चार्जिङको क्रममा आगलागी भएको थियो । यसैगरी, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका देशमा पनि विद्युतीय गाडीमा भएकाे आगलागीको घटना सार्वजनिक भइरहेको छन् । एकवर्षअघि भारतको बैंगलुरुको डाल्मिया सर्कल क्षेत्रमा महिन्द्रा ई २० मा आगलागी भएको थियो । सडकमा गुडिरहेको बेलामा उक्त गाडीमा आगलागी भएको थियो ।
विद्युतीय गाडी दुर्घटना हुँदा उत्पादनका क्रममा भएको गल्ती, ब्याट्रीकै समस्या, बाहिरी तापक्रम वा आगोका कारण लगायतले आगलागी भएका यस्ता कैयौं घटनाहरू छन् ।
के विद्युतीय गाडी असुरक्षित हो ?
विद्युतीय गाडीमा आगो लागेपछि इभीको सुरक्षामाथि प्रश्न उठ्न थालेको छ । पार्किङमा रहेको क्रममा, चार्ज गरिरहेको बेला आगलागी हुनु, ब्रेक, रेन्च, पिकअप र स्टेरिङमा समस्या भई फिर्ता हुनु लगायत विविध कारणले इभीमाथि प्रश्न उठ्न थालेको हो । जसल गर्दा ग्राहकवर्गमा यसको लोकप्रियता घट्ने देखिन्छ ।
एकातर्फ चार्जिङ स्टेसनहरू पर्याप्त नभएर घण्टौसम्म लाइन बस्नुपर्ने बाध्यात्मक अवस्थाले रुष्ट ग्राहकहरूमा यो आगलागीको घटनाले त्रास फैलिएकाे छ । सरकारी तथ्यांकअनुसार नेपालमा ३० हजार युनिटबढी साना ठूला विद्युतीय गाडी छन् । गाडीका संख्या बढी र चार्जिङ स्टेसन कम भई अनुपात नमिल्दा सवारी चार्ज गर्न लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था छ ।
विद्युतीय गाडीमा आगो लाग्ने घटना निकै दुर्लभ मानिन्छ । जोखिमपूर्ण हिसाबले बढी जोखिम भए पनि यी घटनाहरू दुर्लभ हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् । तर, यी घटना दुर्लभ भएपनि आफ्नै गाडीमा आगलागी हुन्छ की भन्ने डर इभी चालकमा व्याप्त छ । दुई वर्षदेखि विद्युतीय सवारी चलाइरहेको ललितपुर निवासी सुमन पाण्डेले अब गाडी चलाउनै डर लागेको बताए । ‘नेपालमा विद्युतीय सवारी नयाँ हो । समस्याको समाधान हुन्छ, तर एउटै ब्राण्डको सवारीमा घरिघरि यस्तो समस्या देखिनुले सम्पूर्ण इभी गाडीमा भविष्यमा पनि त्यस्तै जोखिम दोहोरिने वा गाडीको परफरमेन्समा समस्या आउने पो होकी भन्ने प्रश्न खडा हुन्छ’ उनले भने ।
पेट्रोलियम गाडीको तुलनामा विद्युतीय सवारीमा आगलागी पश्चात नियन्त्रण गर्न पनि समस्या हुन्छ । मुख्यतः विद्युतीय गाडीको ब्याट्रीमा लाग्ने आगोलाई निभाउन असहज हुने बताइन्छ । इभीमा आगलागी हुँदा पानी हालेर नियन्त्रण गर्न सकिँदैन । यसरी नियन्त्रण भएपनि ब्याट्रीमा रहने उच्च तापक्रमका कारण पुनःआगलागी हुने जोखिम रहन्छ ।
नेपालमा मात्रै होइन, संसारमै विद्युतीय गाडी नवीन उत्पादन भएका कारण यसमा आउनसक्ने समस्या र जोखिमहरू अहिलेसम्म पनि यकिन भइसकेको छैनन् । त्यसैले उत्पादकहरूले पनि यस प्रकारण्को दुर्घटना, समस्याहरूलाई सिकाइको मौकाको रूपमा लिनुपर्ने जानकारहरू बताउँछन् ।
पछिल्लो समय नेपालमा विद्युतीय सवारीको आयातसँगै सर्वसाधारणको आकर्षण पनि बढीरहेको छ । तर, दिनानुदिन घटीरहेको यस्ता घटनाहरूले गर्दा विद्युतीय सवारी प्रयोगकर्ता तथा सर्वसाधारणहरूमा त्रास फैलिन थालेको छ । नेपालमा इभी सञ्चालन खर्च सस्तो र सहज भनिएपछि अधिकांशले इभी खरिद गरेका छन् वा किन्ने योजना बनाइरहेका छन् । तर, कम गुणस्तर, दुर्घटनाको छानविन तथा नियमन नहुँदा सवारीको भविष्य भनिएको इभी ‘ट्रली बस’ जस्तै विस्थापित हुन सक्ने निश्चित छ ।