काठमाडाैँ । रसुवा जिल्लाकाे गोसाइँकुण्ड गाउँपालिका–१ र २ मा निर्माण सम्पन्न १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन परीक्षण सुरु भएकाे छ । चिलिमे जलविद्युत् कम्पनीकाे सहायक कम्पनी रसुवागढी हाइड्राे पावरले निर्माण सम्पन्न गरेकाे अायाेजनाकाे उत्पादन परीक्षण थालिएकाे हाे ।
अायाेजनाकाे उत्पादन परीक्षणका लागि कात्तिक २४ गतेदेखि विद्युतगृहदेखि चिलिमे हबसम्मको १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज गरिएकाे कम्पनीले जानकारी दिएकाे छ ।
कम्पनीले प्रसारण लाइन परीक्षण अवधिभर गोसाइँकुन्ड गाउँपालिकाअन्तर्गत टिमुरे, तातोपानी डाँडा, दालफेदी, बुमन, मेन्दो, तार्मा तथा आमाछोदिङमो गाउँपालिकाअन्तर्गत केराघारी, पाजुङ, गोङगाङ, गोल्जुङवेशी, क्षेत्रहरूमा प्रसारण लाइनको मार्गाधिकार क्षेत्र (लाइनको केन्द्र विन्दुबाट दायाँबायाँ ९-९ मिटर) भित्र नजान, टावरहरूमा नछुन सर्वसाधारणलाई सूचित गरेको छ । साथै, उल्लेखित क्षेत्रहरूमा आगलागी, स्पार्किकड भएको कहीँकतै देखिएमा नजिकैको प्रहरी कार्यालय तथा आयोजनाको कार्यालयमा जानकारी गरिदिन पनि समेत कम्पनीले आग्रह गरेको छ ।
कम्पनीले आयोजनाको बाँधस्थलमा रहेका गेट (ढोका)हरू समयसमयमा खोल्ने तथा बन्द गर्नुपर्ने भएकोले भोटेकोशी नदीको बहावसमेत परिवर्तन हुने भएको हुँदा आयोजनाको हेडवर्क्स (बाँधस्थल) देखि रसुवा जिल्लाको तल्लो तटीय क्षेत्रभर नदीको आसपास आवतजावत, हिँडडुल गर्न, नदीजन्य पदार्थ उत्खनन गर्न, माछा मार्न तथा नुवाइधुवाइ आदि कार्य गर्न सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिम हुने हुँदा नदी क्षेत्रभित्र प्रवेश नगर्न नगराउन सर्वसाधारणलाई कम्पनीले आग्रह गरेको छ ।
यस अवधिमा सो क्षेत्रमा असामान्य अवस्था जोखिम देखिएमा सोको जानकारी तत्काल आयोजनाको कार्यालय वा नजिकैको प्रहरी चौकीमा गराउन अनुरोध छ ।








