काठमाडौँ । रसुवामा निर्माण सम्पन्न १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको एउटा युनिटबाट शतप्रतिशत विद्युत् उत्पादन सुरु हुने भएको छ । हिजो अर्थात मंसिर ५ गतेदेखि राष्ट्रिय ग्रीडमा ‘सिंक्रोजाइजेसन’ भएको युनिटबाट आज अर्थात कात्तिक ६ गतेदेखि शतप्रतिशत (३७ मेगावाट) विद्युत् उत्पादन सुरु हुने भएको हो ।
आयोजनाको तीनवटा युनिटमध्ये हिजोदेखि परीक्षण थालिएको युनिटबाट आज साँझसम्म शतप्रतिशत विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख सत्य राम ज्याख्व बताए । यो आयोजनाको प्रवर्द्धक चिमिले जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रो पावर हो ।
‘लामो समयदेखि उपकरणहरू जडान गरेर राखेपनि ‘ब्याक चार्ज’ नपाउँदा रोकिएको उत्पादन परीक्षण हिजोदेखि सुरु भएको छ’, उनले ऊर्जा संचारसँग भने, ‘हिजो सफलतापूर्वक ‘सिंक्रोनाइज’ भएको युनिटबाट आज २५ प्रतिशत, ५० प्रतिशत हुँदै भरैसम्म शतप्रतिशत उत्पादन गर्ने हाम्रो योजना छ । यो युनिटको सफलतापूर्वक उत्पादन परीक्षण भएपछि फेरि दोस्रो युनिटबाट पनि उत्पादन सुरु गर्छौ ।’
आयोजनामा १११ मेगावाट विद्युत् उत्पादन गर्न विद्युतगृहमा ३ वटा युनिट जडान गरिएको छ । सबै युनिटबाट विद्युत् उत्पादन सुरु भएपछि वार्षिक ६१ करोड ३८ लाख ६० हजार युनिट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा योगदान दिन सकिनेछ ।
आयोजनाले उत्पादन गर्ने विद्युत् बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र सुख्खा याममा प्रतियुनिट ८.४० रुपैयाँमा नेपाल विद्यु खरिद गर्ने गरी विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ ।
आयोजनाको निर्माण तथा आन्तरिक परीक्षणका काम २०८० माघमै सम्पन्न भएको थियो । विद्युत् प्रवाहका लागि निर्माणाधीन चिलिमे हव बसस्टेसन र चिलिमेदेखि त्रिशुली ३ बी हबसम्मको प्रसारण लाइन निर्माणमा भएको ढिलाईका कारण उत्पादन प्रभावित भएको हो । विद्युत् उत्पादन गर्न नपाउँदा २०८० माघपछि हालसम्म करिब ३ अर्ब रुपैयाँ (दैनिक करिब ९० लाख रुपैयाँ) बढी आम्दानी गुमाएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीलाई यो आयोजना सम्पन्न गर्न करिब ११ वर्ष लाग्यो । २०७० साल माघदेखि सुरु भएको थियो । आयोजनाको काम निर्माण सुरु भएको ३ वर्षमै सम्पन्न गर्ने लक्ष्य भएपनि भूकम्प, नाकाबन्दी, कोरोना महामारी, बाढीपहिरो, प्राधिकरणले प्रसारण लाइन निर्माणमा गरेको ढिलाइ लगायतका कारणले ११ वर्ष लागेको हो ।
निर्माणको चरणमा १३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएकोमा भौगोलिक विकटता, बाढीपहिरो, निर्माण सामाग्री ढुवानीमा ढिलाइ, भूकम्प, कोभिड–१९ महामारीजस्ता विविध कारणले निर्माणमा ढिलाइ हुँदा लागत ब्याजबाहेक बढेर १८ अर्ब ४७ करोड रुपैयाँ हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।
आयोजनाको सिभिल संरचना निर्माणको काम चीननको सिडब्लुई र इलेक्ट्रोमेकानिकल उपकरण ढुवानी तथा जडानको काम भारतीय कम्पनी भोइथले गरेको हो । यस्तै, विद्युतगृहदेखि चिलिमे हबसम्मको जोडिने डबल सर्किट प्रसारण लाइन निर्माणको काम रोयल कन्स्ट्रक्सन कम्पनीले गरेको हो ।
यस्तै रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन माथिल्लो र तल्लो साञ्जेन–२ जलविद्युत् आयोजनामध्ये १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेनबाट विद्युत् उत्पादन भई उत्पादित विद्युत् चिलिमे केन्द्रको हवबाट राष्ट्रिय प्रसारण लाइनमा पठाइसकिएको छ ।
रसुवामा चिलिमेको सहायक साञ्जेल जलविद्युत कम्पनीमार्फत अगाडि बढेको ४२.५ मेगावाटको तल्लो साञ्जेन जलविद्युत् आयोजना पनि निर्माण पूरा भई उपकरण तथा संरचना परीक्षण कार्य भइरहेको छ ।