काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उद्योगी संलग्न हाइड्रो पावर तथा सौर्य विद्युत् आयोजनाको विद्युत् खरिद बिक्री (पीपीए) को भुक्तानी काटेर ट्रंक एण्ड डेडिकेटेड लाइन वापतको बक्यौता उठाउने प्रक्रिया अघि बढाएको छ । ट्रंक एण्ड डेडिकेटेड लाइनबाट विद्युत् प्रयोग गरेवापतको बक्यौता नबुझाउने उद्योगीहरू संलग्न विद्युत् आयोजनाको पीपीएको भुक्तानी रोकिने भएको छ ।
प्राधिकरणले बुधबार (मंसिर १३ गते) पवन गोल्यानको लगानी रहेको पियोर इनर्जी लिमिटेडलाई पीपीए सम्झौता बमोजिम भुक्तानी गरिने रकमबाट बक्यौता महसुल असुल गरिने भन्दै पत्र पठाएको छ ।
गाेल्यान लगानीकर्ता रहेको प्राधिकरण, इटहरी वितरण केन्द्र अन्तर्गत ग्राहक रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको डेडिकेटेड फिडरबाट विद्युत् उपभोग गरेवातको महसुलको छुट बिजक बमोजिमको रकम ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ थप दस्तुर सहितको बक्यौता बाँकी छ ।
नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ३२ क बमोजिम सरकारी बाँकी सरह असुलउपर गर्न सक्ने व्यवस्था भएकाले निज गोल्यान समेतको लगानी भएको त्यस कमपनीबाट बक्यौता असुल गर्नको लागि विद्युत खरिद बिक्री सम्झौता अनुसार खरिद बापतको मासिक बिल भुक्तानी गर्नुपर्ने रकमबाट क्रमश कट्टा गरी बक्यौता असुल उपर गरिने प्राधिकरणले पठाएकाे पत्रमा उल्लेख छ ।
जगदम्बा स्टिल र मारुती सिमेन्टको सेयर निष्कासन प्रक्रिया रोक्न बोर्डलाई प्राधिकरणको पत्र
प्राधिकरणले जगदम्बा स्टिल र मारुती सिमेन्टको सेयर निष्कासन प्रक्रिया रोक्न नेपाल धितोपत्र बोर्डलाई पत्र पठाएको छ । ट्रंक एण्ड डेडिकेटेड लाइन प्रयोग गरेवापतको बक्यौता महसुल नबुझाउने यी कम्पनीले सेयर निष्कासन गरेमा सर्वसाधारणको लगानी जोखिममा पर्ने सक्ने अवस्थाको संरक्षण गर्न यो कदम उठाएको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार जगदम्बा स्टिलले १ अर्ब ६० करोड १८ लाख ४३ हजार १२५ रुपैयाँ र मारुती सिमेन्टले ५७ करोड ४४ लाख ७९ हजार ४९३ रुपैयाँ डेडिकेटेड ट्रंकलाइनको बक्यौता तिर्न बाँकी छ ।