काठमाडौँ । भारतको सबैभन्दा ठूलो सौर्य कम्पनी प्रोजिल ग्रिन इनर्जी र गोल्यान पावरले आगामी दुई वर्षभित्र ५०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने भएका छन् । कम्पनीहरूको संयुक्त उपक्रम ‘प्रोजिल ग्रिन इनर्जी नेपाल’ले सौर्य ऊर्जा उत्पादन प्रक्रिया अघि बढाएको हो ।
देशलाई स्वच्छ ऊर्जामा अग्रणी बनाउने र नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा रूपान्तरणकारी काम गर्ने प्रोजिल ग्रिन इनर्जी नेपालले जनाएको छ । प्रोजिल ग्रिन इनर्जीले नवीकरणीय ऊर्जा क्षेत्रमा व्यापक विशेषज्ञतालाई प्रयोगमा ल्याउँदै (इन्जिनियरिङ, खरिद र निर्माण) विकास कम्पनीको रूपमा काम गर्ने गोल्यान गु्रपका अध्यक्ष अक्षय गोल्यानले बताए ।
उनले नेपाल विद्युत प्राधिकरणले ९६० मेगावाटको सोलार उत्पादनमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने सम्झौता बमोजिम प्रोजिल ग्रिन इनर्जी प्राविधिक पान्टनरका रुपमा काम गर्ने बताए ।
उनले गोल्यान पावरसँग मिलेर ५०० मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू निर्माण गर्ने लक्ष्यअनुसार २०० मेगावाट बनाउने सम्झौता भइसकेको बताए । उनले रिलायन्स स्पिनिङ मिल्सको खपतको लागि पनि उद्योगको छतमा ९ मेगावाटको सौर्य ऊर्जा उत्पादनको लागि तयारी भइसकेको बताए ।
प्रोजिल ग्रिन इनर्जी नेपालका सञ्चालक प्रविण अर्यालले प्रोजिल ग्रिन इनर्जीसँगको साझेदारीले नेपालमा नवीकरणीय ऊर्जा र दिगोपन प्रतिको प्रतिवद्धतालाई प्रतिविम्वित गर्ने बताए ।
स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सौर्य ऊर्जा उत्पादन गर्ने भनिरहँदा अझै सोलार ऊर्जालाई अगाडि बढाउने विषयमा प्रष्ट नीति नभएको बताए । उनले सरकारले ल्याउन लागेको विद्युत विधेयकमा सौर्य ऊर्जाको विषय नसमेटिएको बताए ।