काठमाडौँ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ५ र ६ मा अवस्थित घुन्सा खोलामा निर्माण गर्न लागिएको ७७.५ मेगावाटको घुन्सा खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । रेमिट हाइडो लिमिटेडले निर्माण गर्न लागेको नदी प्रवाहमा आधारित आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाईमा ५ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने गरी सम्झौता सम्पन्न भएको हो ।
आयोजना सम्पन्न गर्नका लागि निर्माण अवधिभरको ब्याज सहित १८ अर्ब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाईमा हाइडो इलेक्टिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल), माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक र नागरीक लगानी कोषले कूल लगानीको ७० प्रतिशत अर्थात १२ अर्ब ७० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।
आयोजनामा लक्ष्मी सनराइजले ५ अर्ब, एचआइडिसीएलले ३ अर्ब, नागरीक लगानी कोषले २ अर्ब, माछापुच्छ्रेले १ अर्ब ४५ करोड र एभरेष्टले १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्नेछन् ।
यसैगरी, स्वपूंजी लगानी संस्थागततर्फ नेपाल विद्युत प्राधिकरण २१ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड १५ प्रतिशत र विद्युत उत्पादन कम्पनी लिमिटेडको १५ प्रतिशत गरी ५१ प्रतिशत स्वामित्व रहेको यस कम्पनीमा जम्मा पूँजीको ४९ प्रतिशत जनताको लगानी सुनिश्चित हुने गरी व्यवस्था गरिएको छ ।
साधारण सेयर तर्फको ४९ प्रतिशतमध्ये २९ प्रतिशत वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरुको लागि, १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दालाई र बाँकी १० प्रतिशत सर्वसाधारणको लागि छुट्याइएको छ ।
सरकारले लिएको सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पानको लक्ष्य पूरा गर्न यो आयोजनाको महत्वपूर्ण योगदान रहने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बताए । जनताको जलविद्युत् आयोजना अन्तर्गतको यो आयोजना निर्धारीत समयमा मै सम्पन्न गर्न पनि उनले आग्रह गरे ।
एचआइडिसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुन कुमार गौतमले अन्य आयोजनाभन्दा फरक विशेषता भएको यो आयोजनाको परिकल्पना ९ वर्षअघिदेखि सुरु गरिएको बताए । रेमिट्यान्सको प्रयोग, पीपीपी मोडलमा निर्माण अघि बढेको पहिलो आयोजना, नागरिक लगानी कोषको सहवित्तीयको रुपमा लगानी भएको पहिलो आयोजना लगायतका विशेषता भएको यो आयोजनाले सरकारी लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान पुर्याउने उनले बताए ।
सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले आयोजना निर्माणका लागि उत्कृष्ट बैकिङ सहायत प्रदान गर्ने प्रतिबद्धता जनाए । साथै, उनले निर्धारित समय र लागतमा सम्पन्न गर्न पनि आग्रह गरे ।
उक्त आयोजना निर्माण सुरु भएको ४ बर्ष अर्थात सन् २०३० डिसेम्बरभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाबाट उत्पादित विद्युत उर्जा आयोजनाको विद्युतगृह देखि करिव ३ किलोमिटर दूरीमा राष्ट्रिय प्रासारण ग्रिड कम्पनी लिमिटेड तथा सो क्षेत्रका जलविद्युत आयोजनाहरुबाट सार्वजनिक निजी साझेदारी अन्तर्गत निर्माण गरिने मार्गेन स्थित २२०/१३२ के.भी. तमोर सब–स्टेशन र सो बाट करिव ३२ किलोमिटर लामो २२० के.भी. डबल सर्किट प्रसारण लाइन मार्फत प्राधिकरणको ढुंगेसाँघु स्थित २२० के.भी. सब–स्टेसनमा जोडिने छ ।
हालसम्म आयोजना आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउने कार्य सम्पन्न भएको छ । पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भइसकेको छ । आयोजनाको निर्माण तथा संचालनको लागि आवश्यक साइट अफिस तथा आवासगृहहरुको निर्माणको लागि ठेकेदार परिचालन भई निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
यस आयोजनाको लागि आवश्यक जग्गा मध्ये करिव ५२ रोपनी जग्गा कम्पनीको नाममा आइसकेको र बाँकी २८० रोपनी जग्गा अधिग्रहणको अन्तिम चरणमा रहेको छ ।
आयोजनाको विद्युत गृह तथा आवास गृह सम्मको बाटो तथा तमोर नदीका २ स्थानमा बेली ब्रिज राख्ने कार्य आयोजनाले सम्पन्न भएको छ, साथै निर्माणको लागि आवश्यक पर्ने बिद्युतको प्रसारण लाइन नेपाल विद्युत प्राधिकरणले पुर्याएको छ ।
यस आयोजनाको निर्माण पश्चात् देशमा आवश्यक उर्जाको आपूर्तिमा योगदान पुग्ने साथै स्थानीय श्रोत र साधनको सदुपयोग भई समग्र देशको आर्थिक एवं सामाजिक विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।








