ह्याप्पी इनर्जी प्रा.लि.ले संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका वडा नं. २ र ३ मा अघि बढाएको ४० मेगावाट क्षमताको माथिल्लो सखुवाखोला जलविद्युत् आयोजनामा रु ६१८ करोड ऋण लगानी जुटेको छ । आयोजनामा कृषि विकास बैंकको अगुवाईमा ६ बैंक तथा वित्तीय संस्थाहरुले ऋण लगानी गर्ने भएका छन् ।
कृषि विकास बैंकका प्रमुखकार्यकारी अधिकृत गोबिन्द गुरुङ प्रमुख अतिथि र विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालको विशेष अतिथ्यतामा वित्तिय व्यवस्थापन समारोह सम्पन्न भयो ।
यो आयोजना सम्पन्न गर्न ८२४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कृषि विकास बैंकको पहिलो पटक प्रमुख अगुवाईको रुपमा वित्तिय व्यवस्थापन सम्पन्न भएको यस आयोजनामा ७५ प्रतिशत अर्थात् ६१८ करोड ऋण र २५ प्रतिशत अर्थात् २०६ करोड रुपैयाँ स्वपूँजी लगानी रहनेछ ।
कृषि विकास बैंक लिमिटेडको १५० करोड, सहअगुवा सिद्धार्थ बैंक लिमिटेडको १४५ करोड र सहभागीहरूः प्रभु बैंक लिमिटेडको १०० करोड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेको ७५ करोड, लुम्बिनी विकास बैंक लिमिटेडको ७५ करोड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ७३ करोड रुपैयाँ बैंक कर्जा लगानी रहनेछ ।

यो आयोजनामा ठूला लगानीकर्ता मात्रै नभई ‘संखुवाको पानी जनताको लगानी’ नारालाई आत्मसातगर्दै देश भित्र विशेषतः रुपन्देही, गुल्मी, पाल्पा, स्याङजा, पोखरा, चितवन, अर्घाखाँची, काठमाण्डौ, संखुवासभा र विदेशमा रुस, अमेरीका, क्यानडा, अष्ट्रेलिया, जापान, बेलायत तथा अन्य विभिन्न युरोपेली मुलुकहरूमा बसोबास गर्ने गैर आवासीय नेपाली नागरिकहरूको समेत सहभागिता रहेको कम्पनीका कार्यकारी अध्यक्ष इन्द्रबहादुर विष्टले बताए । निकट भविष्यमा आइपिओ मार्फत सर्वसाधारणहरूलाई शेयरधनी बनाउने कम्पनीको योजना छ ।
जलविद्युत् आयोजना विकासले देशको अर्थतन्त्रको सम्पूर्ण अवयवमा सकारात्मक प्रभावपार्ने कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले बताए । ‘जलविद्युत् आयोजनाले उत्पादन नगरेसम्म जोखिम हुन्छ तर, उत्पादन थालेपछि यसमा शुन्य जोखिम हुन्छ र देशको अर्थतन्त्रमा सुधार हुँदै जान्छ’ उनले भने ।
विदेशमा रहेका गैरआवासीय नेपाली नागरिकहरू यस्तो प्रकारको आयोजनामा लगानी गर्न र देशको विकासमा जोडिन तत्पर रहेको ह्याप्पी इनर्जी प्रा.लि.का संचालक तथा गैर आवासिय नेपाली संघ (एनआरएन) का अध्यक्ष डा.बद्री केसीले बताए ।यो आयोजनाको पानीको मुहानको रुपमा हिमनदी र घना वनजंगल हुँदा नदीको बहाव भरपर्दो भई वार्षिक विद्युत् उत्पादन उच्च भएकोले आयोजना निर्माणको पहिलो वर्ष नै लक्षित आम्दानी र आकर्षक प्रतिफल प्राप्तहुने विश्वास गरिएको पनि उनले बताए ।
आयोजनाको सम्पूर्ण संरचना सिलीचोङ गाउँपालिकाको वडा नम्बर २ र ३ मा पर्छ । समुन्द्री सतहबाट १३१८ मिटरदेखि १८३४ मिटरको उचाइमा अवस्थित आयोजनाको पहिचान वि.सं. २०७४ सालमा भएको थियो ।
विद्युत् विकास विभागबाट २०७५ असार ३२ गते सर्भे लाइसेन्स लिएर अध्ययन पूरा गरी २०८० असोज ३० गते विद्युत् उत्पादन अुनमतिपत्र प्राप्त भएको यस जलविद्युत् आयोजनामा प्रयोग गरिने जलस्रोत परिमाणको डिजाइन डिस्चार्ज ९.१८ घनमिटर प्रतिसेकेण्ड र ग्रस हेड ५१६ मिटर रहनेछ । यो आयोजनाको काम २०८५ जेठभित्र सम्पन्न गर्ने तालिका छ । निर्धारित तालिकाभन्दा ४ महिना अगावै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको विष्टले जानकारी दिए ।
आयोजनाको मुख्य हेडवक्र्स संखुवाखोला र लुनसुनखोलाको संगमबाट करिब ७५० मिटर माथिल्लो तटमा अवस्थित छ । जहाँबाँध, ग्राभेल तथा बालुवा थिग्रयाउने पोखरी, सेटलिङ बेसिन, अन्डर स्लुइस, इन्टेक निर्माण हुनेछ ।
इन्टेकबाट पानीलाई ३ हजार ६५० मिटर लामो हेडरेस टनेल, २५५ मिटर सर्फेस पेनस्टक, २५८ मिटर भर्टिकल र ३५५ मिटर होराइजेन्टल साफ्ट मार्फत विद्युत्गृहमा पुर्याइनेछ । यही विद्युतगृहमा जडान हुने २ वटा पेल्टन टर्वाइन घुमाएर उत्पादन हुन्छ ४० मेगावाट विद्युत् । यो आयोजनाबाट वार्षिक २४४ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।
अहिले आयोजनाको पहुँचमार्ग रआवासगृह निर्माणको काम भइरहेको छ जसमा विद्युतगृहदेखि हेडवक्ससम्म ६ किलोमिटर, विद्युतगृहदेखि अडिटसम्म ३ किलोमिटर र विद्युतगृहदेखि सर्जसाफ्टसम्म ३ किलोमिटर लामो पहुँचमार्ग निर्माणको काम भइरहेको छ ।
प्रवर्द्धक कम्पनीले निर्माण गरेको सडकबाट वडा नम्बर २ का बाला, खरिला, दाङखिला, बेतिनी, सिकीदिम, सोेङलाहलगायत क्षेत्रका बासिन्दाहरु लाभान्वित भएका छन् ।
आयोजनामा विस्फोटक पदार्थलगायतका कार्य गर्न नेपाली सेनासँग सम्झौता समेत सम्पन्न भइसकेको छ । नेपाली सेनाहरूको लागि आवासगृह निर्माणको काम करिब ७० प्रतिशत पूरा भइसकेको छ । कर्मचारी, कामदारहरु रहने क्याम्प तथा साइट अफिसको निर्माण पनि ४० प्रतिशत सकिएको छ ।