काठमाडाैँ । मध्यपश्चिम नेपालको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणकाे काम ५१ प्रतिशत मात्र पूरा भएकाे छ । आर्थिक वर्ष २०७९/८० मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाकाे हालसम्म आधा मात्र काम पूरा भएकाे छ ।
सुरुमा २०७९/८० सम्म सम्पन्न गर्ने गरी थालिएको आयोजनाको म्याद ५ वर्षका लागि थपिएको छ । तर काममा भइरहेको ढिलाइले तोकिएको समयमा आयोजना सम्पन्न हुनेमा आशंका देखिएको छ ।
सरकारले आर्थिक वर्ष २०६८/६९ देखि सुरु गर्ने भनिएको आयोजना २०७१/७२ मा मात्र सुरु भएको थियो । आयोजनाको मुख्य भाग डाइभर्सन सुरुङ निर्धारित समयभन्दा ६ महिना अगावै २०७४ चैत २६ गते निर्माण सम्पन्न भएको थियो । पहिलो चरणमा २०७६ चैत १५ सम्म सुरुङ निर्माण गर्ने गरी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप (कोभेक) लाई जिम्मा दिइएको थियो ।
चिनियाँ ठेकेदार कम्पनीले सन् २०७७ भदाै १७ मा सुरुङ हस्तान्तरण गरेको थियो । नेपालका लागि पहिलो पटक टनेल बोरिङ मेशिनको प्रयोग गरेर उत्खनन गरिएको थियो ।
भेरी नदीबाट प्रतिसेकेण्ड ४० घनमिटर पानी बबई नदीमा खसाल्न १५ मिटर अग्लो बाँध निर्माण गर्ने काम भइरहेको आयोजना अहिले दोस्रो चरणमा छ । सुरुङमार्गको मात्रै लागत १० अर्ब ५६ करोड रुपैयाँ भन्दा बढी छ ।
भेरी–बबईमा अहिले दोस्रो चरणअन्तर्गत बाँध तथा पावरहाउस निर्माण, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल जडान एवं निर्माणलगायतका कामहरू भइरहेका छन् । अहिले सुर्खेतको चिप्लेमा हेडवक्स निर्माणको काम जारी रहेको छ । पावरहाउस निर्माणस्थल हात्तीखोलामा स्लोप प्रोटेक्सनको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै फाउन्डेससन, कोफर्ड ड्याम, एंकर ब्लक निर्माणलगायतको काम पनि धमाधम भइरहेकाे छ । चिप्लेमा बाँधको कामसँगै बबईतर्फको हात्तीखोलामा विद्युत गृहको जग खन्ने काम भइरहेको छ । दोस्रो चरणका कामको जिम्मा रमण/ग्वाङडोन जेभीले लिएको छ ।
तेस्रो चरणमा भेरीको पानीलाई सिँचाइमा प्रयोग गर्ने योजनासहित काम अगाडि बढाइने आयोजनाले जनाएको छ । सुर्खेतको चिप्लेमा बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य रहेको छ ।
डाइभर्सन परियोजनाले बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा वर्षैपिच्छे सिँचाइ सुविधा पुर्याई नेपालको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । यसबाहेक, यो परियोजनामा ४८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण पनि समावेश छ ।
भेरी नदीको पानीको बहाव औसत ७६ क्युसेक रहेको छ, जसले गर्दा यो सिँचाइ र जलविद्युत उत्पादनको लागि उपयुक्त स्रोत हो । बाँकेको चिसापानी क्षेत्रको २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ गर्न करिब १५ क्युसेक पानी छुट्याइने छ ।
३३ अर्ब १९ करोड रूपैयाँको लागतमा निर्माण हुन लागेको सो आयोजना स्वदेशी लगानीमा निर्माण हुन लागेको हो । हालसम्म १६ अर्ब ५ करोड रुपैयाँ खर्च भएको छ । निर्माणस्थल भेरीगङ्गा–८ सुर्खेतमा रहेको छ भने बर्दियाको बासगढी–१ हुँदै बबई नदीमा पानी खसालिएको छ ।
निर्माण कार्यलाई सहज बनाउन करिब १,७०० रूखहरू काटिएका थिए, जसमा ७०० ठूला रूखहरू पनि थिए । वातावरणीय प्रभाव चिन्ताको विषय भए तापनि कृषि र ऊर्जामा परियोजनाको दीर्घकालीन लाभ प्रारम्भिक पारिस्थितिकीय लागतभन्दा बढी हुने अपेक्षा गरिएको छ ।
आयोजना सम्पन्न भएपछि कृषि उत्पादकत्व वृद्धि गरी प्रदेशलाई ३ अर्ब १० करोड रुपैयाँ अप्रत्यक्ष आर्थिक योगदान पुर्याउने र ऊर्जा बिक्रीबाट २ अर्ब १० करोड रुपैयाँ प्रत्यक्ष राजस्व योगदान हुने अपेक्षा गरिएको छ । संशोधित समयावधिभित्र काम सम्पन्न हुने गरी ढिलासुस्ती नगरी काम अघि बढ्ने अपेक्षा आयोजनाले गरेको छ ।