Wednesday, April 30, 2025
spot_img

सुपर सेतीमा सानिमा र सिद्धार्थ बैंकको ३७८ करोड लगानी

spot_img

Share

spot_img

काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २४ मेगावाटको सुपर सेती जलविद्युत् आयोजनामा सानिमा बैंक र सिद्धार्थ बैंकले ३७८ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आयोजनामा कुल लागतको ७५ प्रतिशत लगानी गर्ने गरी शुक्रबार एसएन इनर्जी प्रा.लि र बैंकबीच सम्झौता भएको हो ।

सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष अशोककुमार खड्का, सानिमाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्य र सिद्धार्थ बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेलले हस्ताक्षर गरे ।

सम्झौताअनुसार आयोजनमा लिड बैंकको रुपमा सानिमाको २५० करोड र काेलिड बैंक रूपमा सिद्धार्थको १२८ करोड रुपैयाँ ऋण लगानी हुनेछ । यो आयोजना सम्पन्न गर्न ५०४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनाको निर्माण ३ वर्षभित्र सम्पन्न गर्ने योजनासहित २०८१ फागुनदेखि नै काम सुरु भएको कम्पनीका अध्यक्ष खड्काले बताए । एक महिनाको अवधिमै बैंकहरुसँग वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न भएसँगै आयोजना निर्माणको काम पनि निर्धारित तालिका अगावै सम्पन्न गर्नेगरी अघि बढ्ने बताए ।

उनले आयोजनाको प्रमुख संस्थागत लगानीकर्ताको रुपमा नेको इन्स्योरेन्स रहेको पनि जानकारी दिए । ‘नेपालमा करिब ३७ वटा इन्स्योरेन्स कम्पनीहरु छन् । जसको थौरै अंश निकालेर जलविद्युत् आयोजनामा लगानी गर्दा पनि करिब ५०० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन गर्न सकिन्छ । त्यसैले अन्य इन्स्योरेन्स कम्पनीहरुलाई पनि उत्साहित गर्न सकियोस भन्ने उद्देश्यले नेको इन्स्योरेन्सले आयोजनामा लगानी गर्न लागेको छ’ उनले भने ‘इन्स्योरेन्स कम्पनीले ऊर्जा क्षेत्रबाट राम्रो आम्दानी गर्न सक्छन् ।’ साथै, उनले आयोजनाकाे क्षमता विस्तार गरेर ३० मेगावाट पुर्याउने प्रक्रियामा रहेकाे पनि जानकारी दिए ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत आचार्यले निर्धारित समयमा आयोजना सम्पन्न गर्न शुभकामना व्यक्त गरे । उनले नेको जस्तै अन्य इन्स्योरेन्स कम्पनीहरुलाई पनि उत्साहित गर्नुपर्ने बताउँदै तोकिएको लागत र समयमै सम्पन्न गर्न शुभकामना दिए ।

यसैगरी, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रको आत्मबल वृद्धि हुनुमा बैक तथा वित्तीय संस्थाहरुको मत्वपूर्ण भुमिका रहेको बताए । बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रप्रति गरेको विश्वासकै कारण जलविद्युत् उत्पादन बढेको बताउँदै अध्यक्ष कार्कीले स्ट्राेङ मन्त्रालय र एकद्वार नीति भयो भने ऊर्जा क्षेत्रको विकासले फड्को मार्ने बताए ।

२०८१ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौताअनुसार आयोजनाबाट २०८४ कात्तिकभित्र उत्पादन गर्ने तालिका छ । आयोजनाबाट वार्षिक १४२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादीत विद्युत् २१ किलोमिटर दुरीमा रहेको प्राधिकरणको लाहाचोक सबस्टेसनमा जोडिनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img