काठमाडौँ । विद्युत् विकास विभागले एकवर्षको अवधिमा एक हजार मेगावाट बढी क्षमताका जलविद्युत् आयोजनालाई उत्पादन अनुमति वितरण गरेको छ । विभागले अध्ययन पूरा भएका जलविद्युत् आयोजनालाई निर्माण अनुमति दिएको हो ।
विभागले २०८१ बैंशाखदेखि हालसम्म १००२.११६ मेगावाट क्षमताका ३० जलविद्युत् आयोजनाको नाममा अनुमतिपत्र जारी गरेको जनाएको छ । योसँगै विभागले हालसम्म १० हजार ८० मेगावाटका २५५ जलविद्युत् आयोजनाको नाममा उत्पादन अनुमति जारी गरीसकेको छ ।
यो अवधिमा सबैभन्दा ठूलो २१६ मेगावाट बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाले उत्पादन अनुमति पाएको छ । यो समृद्धि इनर्जी लिमिटेडले निर्माण अघि बढाएको आयोजना हो । कम्पनीले बैशाख ३१ गते उत्पादन अनुमति पाएको विभागले जानकारी दिएको छ ।
यसैगरी, २१० मेगावाटको चैनपुर सेती जलविद्युत् आयोजनाले पनि उत्पादन अनुमति पाएको छ । चैनपुर सेती हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण अघि बढाएको आयोजनाले भदौ ९ गते उत्पादन अनुमति पाएको हो ।