Friday, July 11, 2025
spot_img

नाडा भर्सेस नाइमाः कुन अटाे ‘शो’मा बढी ब्राण्ड

spot_img

Share

spot_img

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) नेपालका अटोमोबाइल व्यवसायहरुको छाता सङ्गठन हो । नाडा सुरुमा गाडी आयातकर्ताहरूले २०३२ असोजदेखि सञ्चालनमा ल्याएका थिए ।

नाडा सञ्चालनमा आएको करिब ५० वर्षपछि नाडामा अति राजनीति भएको भन्दै गाडी आयात गर्ने र उत्पादन गर्नेहरूले छुट्टाछुट्टै संस्था खडा गरेका छन् । नाडाको विघटनको प्रमुख कारण भने पछिल्लो नेतृत्व चयन रहेको छ । आन्तरिक द्वन्द्व र नेतृत्व चयनमा आएको असहमतिका कारण अटोमोबाइल क्षेत्रका व्यवसायीहरू यतिबेला विभाजित भएका छन् ।

यसैगरी, नाडा साना व्यवसायी र डिलरहरूलाई बेवास्ता गर्दै आयातकर्तामुखी संस्थाका रूपमा सीमित भएको गुनासो लामो समयदेखि उठ्दै आएको थियो । यो पनि नाडा विघटन हुनुको कारण हो ।

गत फागुन ९ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको नयाँ संस्था नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) गैर नाफामूलक संस्था हो । यसरी, नाडा फुटेर नाइमा बनेसँगै अटो व्यवसायी दुई धारमा विभाजित भएका छन् ।

अहिले नाडाको अध्यक्षमा करण चौधरी छन् भने नाइमाको अध्यक्ष ऋतु सिंह बैद्य हुन् । २०७८ सालको निर्वाचनमा अटो व्यवसायी ध्रुव थापासँग पराजित भएका चौधरी २०८० पुस २२ गते सम्पन्न निर्वाचनमार्फत नाडाका अध्यक्ष चुनिएका थिए । चौधरीले आफ्नो व्यावसायिक अनुभवलाई प्रमुख आधार बनाउँदै नेतृत्व सम्हालेका थिए । अटोमोबाइल क्षेत्रका विभिन्न ब्रान्डमा काम गरिसकेका चौधरीले गाडी, मोटरसाइकल, टायर, ट्याक्टर, लुब्रिकेन्ट, स्पेयर पाट्र्स लगायतका क्षेत्रमा अनुभव बटुलेका छन् ।

अटो मोबाइल व्यवसायी दुई धारमा विभाजन भएपछि व्यवसायीहरूमा चुनौति पनि थपिएको छ । सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गर्ने भनिरहँदा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत पेट्रोल र डिजेलबाट चल्ने व्यक्तिगत तथा विद्युतीय सबै (व्यक्तिगत तथा सार्वजनिक) सवारीसाधन खरिदमा मूल्यको ६० प्रतिशतसम्म मात्र ऋण पाउने व्यवस्था गरेको छ । यसअघि व्यक्तिगत विद्युतीय सवारीमा ८० प्रतिशतसम्म र सार्वजनिक विद्युतीय सवारीमा शतप्रतिशतसम्म ऋणको सुविधा थियो । यस्तो अवस्थामा व्यवसायीहरू सँगसँगै मिलेर काम गर्नुपर्ने बेला दुई धारमा बाँडिएका छन् ।

यी दुई संस्थाहरूले अटो शो पनि एक साताको फरकमा छुट्टाछ्ुट्टै गर्ने भएका छन् । जसका कारण झन चुनौति थपिने देखिएको छ । विगतका वर्षमा एकै ठाउँमा अटो प्रर्दशनी गर्ने व्यवसायीहरू यस वर्ष छुट्टाछुट्टै गर्ने घोषणा गरेका छन् । जसका कारण ‘शो’मा उत्साह र रौनक कम हुने निश्चित छ ।

नाइमाले काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म मोबिलिटी एक्स्पो गर्ने घोषणा गरेको छ । अटो व्यवसायमा लामो लिगेसी बोकेको नाडाले यसअघि नै आगामी भदौ ३ देखि ८ सम्म १७ औं संस्करणको नाडा अटो शो गर्ने घोषणा गरिसकेको छ । एउटै ब्रान्ड दुबै प्रदर्शनीमा सहभागि हुन सम्भव नरहेको व्यवसायीहरू बताउँछन् ।

नाइमाकी अध्यक्ष वैद्यले गाडी आयातकर्ता र गाडी उत्पादकको आवाज उठाउन संस्था दर्ता गरेको बताइन् । नाइमाले अटोमोबिलिटी क्षेत्रको थिंकट्यांकको रुपमा काम गर्नेछ । नाइमाले सुरक्षा र पूर्वाधारको गुणस्तर अभिवृद्धि, अटो व्यवसायअनुकूल नीति र कानुनको लबिइङ र दक्ष जनशक्ति उत्पादनमा ध्यान दिँदै आगामी दिनमा सरकार र सरोकारवालासँग सहकार्य गरी अघि बढ्ने वैद्यको भनाइ छ । अटो व्यवसायका मुख्य व्यवसायीको सामूहिक आवाजलाई बलियो बनाउन नाइमाले सहयोग पुर्याउने विश्वास छ ।

साताको फरकमा अटो शो

नाइमाले साउन २१ देखि २५ गतेसम्म मोबिलिटी एक्स्पो, नाडाले भदौ ३ देखि ८ सम्म १७ औं संस्करणको नाडा अटो शो गर्ने घोषणा गरेका छन् । नाइमाले प्रदर्शनीकर्तालाई २५ प्रतिशत सस्तो र व्यवस्थित स्टल दिने दाबी गरेको छ भने अवलोकनकर्तालाई कम मूल्यमा टिकेट दिनेदेखि मिडिया र बिजनेश डेको लागि अलगै दिनको व्यवस्था गर्ने समेत घोषणा गरेको छ ।

नाइमाको स्टल मूल्य सस्तो रहेका कारण पनि कतिपयले नाडाको तुलनामा बढी अटो ब्रान्ड नाइमातर्फ जाने तर्क गरिरहेका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img