काठमाडौँ । गेजुबा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले कर्णाली प्रदेशको जाजरकोट जिल्लाको नलगाढ नगरपालिकामा २७० मेगावाटको भरी–१ आंशिक जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले करिब ७० अर्ब लागतमा उक्त आयोजना निर्माण गर्न लागेको हो ।
आयोजनाको मुख्य संरचनाहरूमा ड्याम, डिसान्डीङ बेसिन, हेनरेस टनेल, सर्ज ट्याङ्क, पेनस्टक पाइप, विद्युत्गृह, टेलरेस रहेका छन् । यस आयोजनाले नलगाढ नगरपालिका वडा नम्बर १०, ११, १२, १३ तथा रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिकाको वडा नम्बर ४, ५ र ६ लाई प्रभावित गर्दछ ।
यो आयोजना पूरा भएपछि १५६७.३१ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । यो आयोजनामा स्थायी तथा अस्थायी गरी कूल २४.०७५ हेक्टर राष्ट्रिय वन चाहिने छ जसमा राष्ट्रिय वन जाजरकोटको २०.५२३ हेक्टर र रुकुम पश्चिमको ३.५५२ हेक्टर रहेको छ ।
यो आयोजना सम्पन्न गर्न ७१ अर्ब ९७ करोड १६ लाख २० हजार रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ७५ प्रतिशत ऋण लगानी र २५ प्रतिशत स्वपूँजी लगानी हुनेछ ।








