काठमाडौँ । जेठ १५ गते आउने आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी (ईभी) मा कर बढ्ने पूर्वासूचनाका आधारमा व्यवसायीहरूले सवारी आयात बढाएपछि यो वर्ष ठूलो परिमाणमा विद्युतीय सवारी आयात भएकाे छ । आयातको संख्या बढ्दै गएपद्धि जाँचपास गर्दै राखिएको छ भने केही जाँचपासका लागि क्यूमा छन् । वैशाख महिनामा मात्रै ३ हजार ३७ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएको भन्सार विभागले जानकारी दिएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार नयाँ बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी)मा कर बढाइने पक्का भइसकेको छ । सबैभन्दा बढी आयात हुने १०० किलोवाट सम्मका ईभीलाई एउटा मोटर पावरको ‘स्ल्याब’ कायम गरेर थोरै कर बढाउने तर, प्रीमियम र लक्जरी ईभीमा बढी कर लगाउन लागिएको छ ।
भन्सार दर र अन्तःशुल्क गरेर ईभीमा मूल्यको न्यूनतम् ४० प्रतिशतसम्म कर लगाउने तयारी छ । विगतमा ५० किलोवाटसम्मका ईभीमा १५ प्रतिशत भन्सार शुल्क मात्रै लाग्दै आएकोमा आर्थिक वर्ष २०८१–८२ मा सो सीमाभित्रका ईभीमा ५ प्रतिशत अन्तःशुल्क थप गरिएको थियो । त्यस्तै ५१ देखि १०० किलोवाटसम्मका ईभीमा भन्सार र अन्तःशुल्क गरेर ४० प्रतिशत कर लगाउने तयारी अर्थले गरेको छ । जबकी, हाल ५० किलोवाटदेखि १०० किलोवाटसम्मका ईभीमा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्दै आएको छ ।
१०१–२०० किलोवाट, २०१–३०० किलोवाट र ३०० किलोवाटभन्दा माथि भने अलि बढी प्रीमियम चार्जको अनुभूति हुनेगरी कर बढाउने तयारी छ ।
यो १० महिनामा २४ अर्ब ५५ करोड रुपैयाँ बराबरको २३ हजार ९ सय ३३ विद्युतीय सवारी आयात भएका छन् । जसमा अएसेम्बल, एसेम्बल, तीन पाङ्ग्रे, चार पाङ्ग्रे सवारी साधन रहेका छन् । यो अवधिमा तीन पाङग्रे सवारी मात्रै ८ हजार ५ सय ८७ वटा आयात भएका छन् ।








