काठमाडौँ । रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे लिखु खोला जलविद्युत् आयोजनामा भीषण बाढी पस्दा आयोजनाको बाँध क्षेत्रमा ठूलो क्षति पुगेको छ । लिखु खोलामा एक्कासी बाढी आउँदा उमाकुण्ड गाउँपालिकामा निर्माणाधीन आयोजनाको बाँध संरचनामा क्षति पुगेको हो ।
भिजन इनर्जी एण्ड पावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध क्षेत्रको निर्माण सम्पन्न भइसकेको थियो । बाढीले बाँधस्थलमा रहेको इन्टेक, डिस्याण्डर लगायतको संरचनामा क्षति पुर्याएको कम्पनीका कार्यकारी अध्यक्ष टीएन आचार्यले जानकारी दिए । ‘बाढीले विद्युतगृह क्षेत्रमा पनि क्षति पुर्याएको छ । अहिले बाढीबाट भएकाे क्षतिको मूल्यांकन गर्न विवरण संकलन गर्ने काम भइरहेको छ,’ उनले भने ।
२०८२ को साउन अन्तिमतिरबाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेकाे आयोजनामा बाढीले क्षती पुर्याउँदा उत्पादन तालिका प्रभावित भएको छ । क्षतीग्रस्त संरचनाको पुर्ननिर्माण गरी विद्युत् उत्पादन गर्न अब कम्तिमा पनि ३ महिना लाग्ने उनले बताए । आयोजनाको निर्माण २०७८ असोज १२ गतेबाट सुरु भएको थियो ।
अहिलेसम्म निजी क्षेत्रले निर्माण गरिरहेको आयोजनामध्ये नुप्चे लिखु सम्भवतः सबैभन्दा उच्च हिमाली क्षेत्रमा पर्दछ । आयोजनाबाट वार्षिक ३८१ गिगावाट घन्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । क्यू ४५ मा डिजाइन गरिएको यो आयोजनाबाट पहिलो वर्ष २ अर्ब ३५ करोड रुपैयाँको आम्दानी हुने प्रक्षेपण गरिएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहदेखि २४ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको गर्जाङ सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न १० अर्ब ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा माछापुच्छ्रे बैंकको अगुवाईमा हिमालयन बैंक, बैंक अफ काठमाडौँ, राष्ट्रिय वाणिज्य, कुमारी, कुषि विकास, एनसिसी बैकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वपुँजी लगानी छ ।
आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले ५० करोड रुपैयाँ स्वपुँजी लगानी गरेको छ ।








