Friday, May 1, 2026
spot_img

३ दिन सतर्क रहन जलविद्युत् आयोजनालाई इप्पानको आग्रह

spot_img

Share

spot_img

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत आयोजनाहरूलाई आगामी ३ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागबाट यही श्रावण ३, ४ र ५ गते देशभर अत्याधिक वर्षा भई नदीहरुमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान गरेर जलविद्युत् आयोजनामा पूर्वतयारीका लागि पूर्वसूचना दिएपछि इप्पानले प्रेस विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदान प्रदान गर्ने सम्झौता अनुसार विभागले यस सम्बन्धमा इप्पानलाई पूर्वतयारीका लागि निरन्तर सूचना आदान प्रदान गर्दै आएको छ ।

विभागका अनुसार श्रावण ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुनेछ ।पूवी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काई लगायतका नदीहरूमा बाढी आउन सक्ने सम्भावना अत्यधिक छ । कोशी नदी सतर्कता तह नजिक वा पार गर्न सक्ने स्थितिमा पुग्न सक्नेछ । पूर्वीनेपालबाट सक्रिय हुने मौसमी प्रणाली पश्चिम नेपालतर्फ अघि बढ्नेछ । ४ गते बेलुका बागमती नदीमा बाढी आई काठमाडौं उपत्यका र तल्ला तटिय क्षेत्र प्रभावित हुनेछन् भने ४ गते बेलुकादेखि ५ गते दिउँसोसम्म महाकाली नदी र त्यसको तटिय क्षेत्रमा बाढी आउनसक्ने सम्भावना उच्च रहेको छ ।

यसपटकको मौसमी प्रणालीले मध्य नेपालमा बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देही लगायतका जिल्लामा असर पर्नेछ, जसले नारायणी जलाधारको मध्य पहाडदेखि तल्लो तटसम्मलाई प्रभावित गर्नेछ ।

पश्चिममा राप्ती र बबई क्षेत्रमा पनि मध्यम स्तरको प्रभाव पर्ने सम्भावना छ भने महाकाली क्षेत्रमा श्रावण ४ गते बेलुकादेखि ५ गते मध्यान्हसम्म बढी सतर्कता अपनाउनु आवश्यक रहेको जलतथा मौसम विज्ञान विभागलाई उद्धृत गर्दै इप्पानले जानकारी दिएको छ ।

मौसम सम्बन्धी पूर्वसूचनाहरू लिएर इप्पानमा आवद्धसहित देशभरका सम्पूर्ण निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुलाई विपद्बाट हुन सक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि पूर्वतयारीका कार्य अघि बढाउन इप्पानले आग्रह गरेको छ ।

गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका आधा दर्जन भन्दा बढी जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुर्‍याएको घटनाका साथै विगतका वर्षहरुमा पनि बाढी पहिरोले जलविद्युत आयोजना निर्माणमा संग्लग्न धेरै कर्मचारीहरुले ज्यान गुमाउनुका साथै आयोजनामा निकै ठूलो भौतिक क्षति भई वर्षौसम्म विद्युत् उत्पादन बन्द गर्नुपरेको घटनालाई स्मरण गराउँदै आगामी दिनमा यस्ता घना दोहोरिन नदिन इप्पानले आग्रह गरेको छ ।

इप्पानले विपदको बेलामा सबैभन्दा पहिला मानवीय क्षति हुन नदिन जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूलाई आग्रह गरेको छ ।

त्यसका लागि सबै नदि करिडोरका माथिल्लो भागमा निर्माण भएका जलविद्युत् आयोजनाहरुले बाढी आएको देखिसकेपछि तल्लो तटीय क्षेत्रमा निर्माण भएका आयोजनाहरूलाई समयमै बाढीको सूचना दिएर सञ्चालनमा रहेका आयोजनाहरू भए विद्युत् प्राधिकरणलाई समेत सोको जानकारी गराई आयोजनाका गेटहरु बन्द गरी सुरक्षित स्थानमा जानका लागि सहकार्य गर्न पनि इप्पानले सबै जलविद्युत प्रवर्द्धकहरुसँग आग्रह गरेको छ ।

बाढी आएको सूचना सबैभन्दा पहिला मौसम विज्ञान विभागका गेज स्टेशनमा बस्ने कर्मचारीहरुलाई प्राप्त हुने हुँदा जलविद्युत् आयोजनाका जिम्मेवार व्यक्तिहरुले उनीहरुसँग समन्वय गरी नदी करिडोरमा बस्ने स्थानिय बासिन्दाहरुको जिउधनको सुरक्षाको लागिसमेत स्थानिय स्तरमा सूचनाको आदान प्रदान गरिदिन पनि सबै जलविद्युत् प्रवर्द्धकमा इप्पानले आग्रह गरेको छ ।

बाढीबाट हुने क्षति न्युनिकरणका लागि पूर्वतयारी गर्दा गर्दै पनि कहिँ कतै मानविय तथा भौतिक क्षति हुन गइहालेमा सो को जानकारी इप्पानमा गराइदिन पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img