काठमाडाैँ । ऊर्जा र वातावरणका लागि महिला सञ्चाल (ओनी) ७औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा ओनीले आज अर्थात बुधबार ७औं स्थापना दिवस मनाएकाे हो ।
महिलाहरुको क्षमता विस्तार गर्नका लागि २०७५ सालमा स्थापना भएको ओनीले ४० वटा जिल्लाका स्थानीय तहमा ९३ वटा सञ्चाल विस्तार गरिसकेको छ । ओनीले विशेषगरी दीगो विकासको लक्ष्य नम्बर ५, ७ र १३ मा काम गरिरहेको छ ।
ओनीले स्थापनाकालदेखि हालसम्म क्षमता विस्तार, सचेतना लगायत विभिन्न किसीमका तालिम तथा कार्यक्रम गरी १९ हजार ९०४ जनालाई लाभान्वित गरिसकेको ओनीका अध्यक्ष कला तिमिल्सीनाले बताईन । ओनीले विद्युतीय दुर्घटना, सुरक्षा व्यवस्थापन, विद्युतीय चुलो मर्मत संभार, ऊर्जा क्षेत्रको विस्तार र विकासका लागि बहस पैरवी गर्ने कामहरु गर्दै आएको छ ।

ऊर्जामा महिलाकाे क्षमता विस्तारका लागि बहस पैरवी गरिरहँदा विद्युत क्षेत्रकाे महत्वपूर्ण निकाय नेपाल विद्युत प्राधिकरण र वैकल्पकि ऊर्जा प्रवर्द्धन केन्द्रकाे बाेर्डमा एक जना पनि महिला नभएकाे प्रति अध्यक्ष तिमिल्सीनाले गुनासाे व्यक्त गरिन ।
हालसम्म जलवायु परिवर्तन र यसले जिविकोपार्जनमा पारेको असर, अनुकुलन, न्यनीकरण र जलवायु सहनशिलता सम्बन्धी तालिम ४३१, उद्यमशितला अभिमुखीकरण तालिम ३६०, करेसाबारी तथा तरकारी खेती सम्बन्धी तालिम १६२, सालको पातको टपरी उत्पादन तथा बिक्री सम्बन्धी तालिम १८०, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण सम्बन्धी तालिम ७८, विद्युतीय चुलो प्रयोग सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम ७६, बिवाह, ब्रतबन्धमा प्रयोग हुने जरीमाला बनाउने तालिम ६१ प्रदान गरिसकेको छ ।
यसैगरी, दिदिबहिनी बिजुली शिक्षा कार्यक्रममा १८००, विद्युतीय सुरक्षा सचेतनामा ९८३०, विद्युतीय चुलो सचेतना ५३१०, नवीकरणीय ऊर्जा र महिला सम्बन्धी तालिम कार्यक्रम ७८० जना लाभान्वित भईसकेका छन् ।

हाल ओनी अन्तर्गत १३९५ जना महिला आवद्ध छन् । ओनीले सचेतना तथा तालिम प्रदान सँगै विपद्मा परेकाहरुलाई सहयोग गर्ने काम पनि गरिरहेको छ । ओनीले सिन्धुपाल्चोकमा २५० वटा टर्ज लाइट, १० वटा पावर बैंक र ३ वटा सोलार प्यानल सहयोग गरेको हाे ।
ओनीले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर ऊर्जा जोखिम, सुरक्षासम्बन्धी तालिम पनि दिँदै आएको छ । साथै, हाइड्राेजन ग्यासबाट खाना पकाउने परीक्षणका लागि पार्टनरको रुपमा काम गरिरहेको छ ।
कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले ओनीले गरेको काम तारिफयोग्य रहेको बताउँदै आगामी दिनमा यस्ता खालका यस्तै कामहरुमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले केन्द्रले पनि हाउसहाेल्डकाे पक्षमा बढी काम गरिरहेकाे भएर महिलाहरू प्रत्यक्ष रूपमा लाभान्वित रहेकाे बताए । केन्द्रकाे बाेर्डकाे महिलाकाे पहुँच पुर्याउनेतर्फ काम गर्दा गर्दै पनि याे पटक नसकिएकाेले अागामी दिनमा जसरी भएपनि बाेर्डमा महिलाकाे सहभागिता पुर्याउने प्रतिवद्धता जनाए ।

यसैगरी, प्राधिकरणका निर्देशक रन्जु पाण्डले ऊर्जामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा महिला सहभागी हुने हुँदा ग्रामिण क्षेत्रमा दिइएको यस्तो तालिम तथा सचेतनाले विद्युतीय दुर्घटना न्यूनिकरण गर्ने बताइन ।
सामुदायिक विद्युत उपभोक्ता राष्टिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले ओनीले गरेको कार्यलाई राज्यले अनुभुति गर्नुपर्ने बताए । ७ वर्षको अवधिमा गरेको यो कामलाई राज्यले ग्रहण गरेर आगामी दिनमा ओनीलाई सहयोग गरेर थप वृहत रुपमा अघि बढाउन जरुरी रहेको पनि उनले बताए ।
प्राक्टिकल एक्सनका कन्टि डाइरेक्टर पुजा शर्माले ओनीले गरेको कामको प्रचारप्रसार विश्वव्यापी रुपमा हुन जरुरी रहेको बताइन ।











