काठमाडौँ । सुदुरपश्चिमको बझाङमा २१६ मेगावाटको बझाङ माथिल्लो सेती आंशिक जलाशय जलविद्युत् आयोजना निर्माण हुने भएको छ । समृद्धि इनर्जी लिमिटेडले जिल्लाको साइपाल गाउँपालिकामा प्रस्ताव गरेको आयोजना निर्माण सम्पन्न गर्न साढे ४४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
प्रस्तावित आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार आयोजना निर्माण सम्पन्न गर्न ४४ अर्ब ५१ करोड ६० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । यसका आधारमा प्रतिमेगावाट लागत २० करोड ६० लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ ।
कम्पनीले विद्युत् विकास विभागबाट २०७५ साउन १५ गते अध्ययन अनुमति लिएर प्रक्रिया अघि बढाएको थियो । उक्त अनुमतिको म्याद सकिएको हुनाले कम्पनीले आयोजनाको उत्पादन अनुमतिका लागि २०८० साउन १२ गते विभागमा आवेदन पेश गरेको छ ।
आयोजनास्थल
कम्पनीले तयार पारेको प्रतिवेदन अनुसार आयोजना साइपाल गाउँपालिकाको वडा नम्बर ४ र ५ भई बग्ने सेती नदीको दाँया र बाँया किनारमा रहनेछ । आयोजनाको हेडवक्र्स इन्गल्दर खोला र सेती खोलाको संगमबाट १०० मिटर तल प्रस्ताव गरिएको छ । त्यस्तै आयोजनाको विद्युतगृह सेती खोलाको बाँया किनारको ३०० मिटर माथि रामु खोला र सेती खोलाको संगममा प्रस्ताव गरिएको छ ।प्रस्तावित आयोजनामा मूख्य संरचनाहरूमा डाइभर्सन, इन्टेक, ग्राभेल ट्रयाप, डिसेन्डिङ बेसिन, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक, पावरहाउस, टेलरेस क्यानल, स्वीचयार्ड रहेका छन् ।
वार्षिक ऊर्जा
आयोजना पूरा भएपछि वार्षिक १२२९.६ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । अफपिक समयको सुख्खायाममा २३१.४७ गिगावाट, पिक समयमो सुख्खायाममा १६३.६४ गिगावाट र वर्षायाममा ८३४.४९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।
पिकिङ जलाशय
सेती खोलाको ३४.१० घनमिटर प्रतिसेकेण्ड पानीलाई थुनेर ४.५ घण्टा पिकिङ क्षमता रहने गरी डिजाइन गरिएको यस आयोजनाको ग्रस हेड र रेटेड नेट हेड क्रमशः ७५८.९ र ७३५.६ मिटर रहने छ । प्रस्तावित आयोजनाको पिकिङ जलाशय पूर्ण रूपमा भरिनको लागि सुख्खा मौसममा १२ घण्टा समय लाग्नेछ र बाँकी ८ घण्टा नदी प्रवाह आयोजनाको रूपमा चल्ने छ ।
हेडरेस टनेल
आयोजनाका लागि प्रस्तावित हेडरेस टनेलको लम्बाइ ८९६३ मिटर हुनेछ । टनेलको निर्माण कार्य तिव्र बनाउनका लागि ६ वटा अडिटहरू रहनेछन् । यसैगरी, २०६९ मिटर लामो पेनस्टक शाफ्ट रहने छ ।
आयोजनाका लागि आवश्यक जग्गा र जनशक्ति
आयोजनाका स्थायी र अस्थायी संरचनाहरू साईपाल गाउँपालिकाको सामुदायिक वन र सरकारद्धारा व्यवस्थित वनमा प्रस्ताव गरिएको छ । यस आयोजनाका लागि स्थायी रूपमा ३६.१७९ हेक्टर र अस्थायी रूपमा ३७.५५५ हेक्टर गरी कूल ७३.७३४ हेक्टर जग्गा आवश्यक पर्नेछ ।
आयोजनाको कार्यान्वयनका लागि ९० जना दक्ष, १४० जना अर्धदक्ष र २७० जना अदक्ष गरी ५०० जनशक्ति प्रतिदिन आवश्यक पर्दछ । यसैगरी, सञ्चालन चरणमा ३४ दक्ष, ६ अर्धदक्ष र ९ अदक्ष गरी कुल ४९ जनशक्ति प्रतिदिन आवश्यक पर्दछ ।