काठमाडाैँ । नेपालमा एसआरएम र जोयलङ ईभी भ्यानको आधिकारिक वितरक भीजी मोटर्सले विद्युतीय सवारी साधन (ईभी) को दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रशिक्षकहरुको प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स–टीओटी) सम्पन्न गरेको छ ।
पहिलो चरणमा कम्पनीले साउन १० गते शनिबार काभ्रेको बनेपामा रहेको संयुक्त ड्राइभिङ ट्रायल सेन्टरमा ड्राइभिङ सेन्टरका प्रशिक्षकहरूलाई तालिम दिएको हो । उक्त कार्यक्रममा सातै प्रदेशबाट आमन्त्रित ४५ जना अनुभवी चालक प्रशिक्षकहरू सहभागी रहेको कम्पनीले जनाएको छ ।
तालिमका सहभागीलाई ईभीको प्रविधि र यसलाई चलाउने शैलीबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको भीजी मोटर्सले जनाएको छ । उनीहरुलाई ईभीको सुरक्षित सञ्चालन, शैक्षिक संस्थाका र सार्वजनिक सवारी साधनको सुरक्षामा आवश्यक सावधानी तथा व्यावहारिक सीपसम्बन्धी प्रशिक्षण दिइएको हाे ।
उक्त तालिममा ईभीको तत्काल उत्पन्न हुने गति र आकस्मिक तीव्र गति नियन्त्रण, उकालो–ओरालोमा रिजेनेरेटिभ ब्रेकिङको प्रयोग, साइलेन्ट अपरेसनका कारण देखिने जोखिम र सजगताका उपाय, स्टेयरिङ र ब्रेकिङको संवेदनशीलता सम्हाल्ने व्यावहारिक अभ्यास लगायत ज्ञान दिइएको छ । यस्तै, ड्यासबोर्डका संकेतहरू– एसओसी, पावर मोटर, टर्टल मोड आदि बुझ्ने तरिका पनि सिकाइएको छ ।
वातावरण अनुकूलता, भन्सार र अन्य करमा सहुलियतका साथै सञ्चालन खर्च धरै कम लाग्ने भएकाले ईभीको प्रयोग बढ्दो छ । तर, ईभी प्रविधिसँग तालमेल गर्न नसक्दा दुर्घटनाको जोखिम पनि बढिरहेको छ । ईभी प्रविधि आफैंले दुर्घटना नगराए पनि यो प्रविधिलाई राम्ररी नबुझ्दा दुर्घटनाको सम्भावना धेरै हुने भएकाले तालिम जरुरी हुने कम्पनीको भनाइ छ ।








