Monday, May 25, 2026
spot_img

अन्ततः १०६ मेगावाटको जगदुल्लाको ठेक्का सम्झौता सम्पन्न

spot_img

Share

spot_img

काठमाडौँ । डोल्पामा पहिचान भई निर्माण अघि बढेको १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण ठेक्का सम्झौता सम्पन्न भएको छ । लामो सयमदेखि विविध कारणले अल्झिदैँ बसेको आयोजनाको ठेक्का सम्झाैता सोमबार अर्थात साउन २६ गते सम्पन्न भएको हो ।

आयोजना र ठेकेदार कम्पनी जियाङसी कन्स्ट्रक्सन इन्जिनियरीङ कर्पोरेशन लिमिटेड र एनके कन्स्ट्रक्सन कम्पनी प्रालिको संयुक्त कम्पनी जेसीई/एनकेजेई जेभीसँग सम्झौता सम्पन्न भएको प्रवर्द्धक कम्पनी जगदुल्ला हाइड्रो पावर कम्पनीले जानकारी दिएको छ ।

सम्झौताअनुसार आगामी ६० दिनभित्र निर्माण कार्य सुरु गर्नुपर्नेछ । आयोजना निर्माणका लागि आह्वान गरेको ठेक्का प्रक्रियामा आवेदन दिएका चार कम्पनीमध्ये प्राविधिक रूपमा जेसीई÷एनकेजेई जेभी र सिनो हाइड्रो कर्पोरेसन लिमिटेड मात्र छनोट भएका थिए ।

प्राविधिक मूल्यांकनपछि खुलाइएको आर्थिक प्रस्तावमा सबैभन्दा कम दर १३ अर्ब ७३ करोड रुपैयाँ (भ्याटसहित) प्रस्ताव गर्ने जेसीई÷एनकेजेई जेभीलाई ठेक्का दिइएको हो ।

यसको पहिलो पटक २०८१ जेठ २० गते कम्पनीले सिभिल र हाइड्रो मेकानिकल संरचना निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । जसमा ७ कम्पनीले आवेदन दिएका थिए । प्राविधिक प्रस्तावमा कुनै कम्पनी छनोट नभएपछि अन्तिममा ठेक्का रद्ध भयो ।

कम्पनीले पुनः दोस्रो पटक ठेक्का निकाल्यो । जसमा चार कम्पनीले आवेदन दिएका थिए । प्राविधिक मूल्यांकनमा चारमध्ये २ कम्पनी जेसीई÷ एएनके जेभी र सिनो हाइड्रो कर्पोरेशन छनोट भएका थिए । प्राविधिक छनोट सम्पन्न भएपछि कम्पनीले खोलेको आर्थिक प्रस्तावमा सिनो हाइड्रोले १३ अर्ब ३३ करोड रुपैयाँ र जेसीई÷एएनकेले १२ अर्ब १५ करोड रुपैयाँ प्रस्ताव गरेको थियो ।

जेसीई÷एएनके जेभीले फर्जी कागजात पेस गरेको भन्दै लेखा समितिमा उजुरी पर्यो, जसका कारण लेखा समितिले ठेक्का प्रक्रिया रोक्यो । लेखा समितिले करिब २ महिना ठेक्का प्रक्रिया रोकेपछि अदालतमा मुद्धा चलिरहेको भन्दै ठेक्का प्रक्रिया कानुनअनुसार अघि बढाउन बाटो खोलिदिएको हो ।

आयोजनाको विवरण

आयोजना डोल्पाको जगदुल्ला र मुड्केचुला भएर बग्ने जगदुल्ला नदीमा निर्माण प्रस्ताव गरिएको छ । यसको बाँध जगदुल्ला–२ हुरिकोटमा निर्माण हुनेछ । ६.२ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्छ । आयोजना पिकिङ रन अफ दि रिभर (आंशिक जलाशय) प्रकृतिको हुनेछ ।

अहिले आयोजनाको संरचना निर्माण गर्नु अघिको काम भइरहेको छ । आयोजना स्थलसम्म पुग्ने पहुँच सडक बनिरहेको छ । यो आयोजनाको मुख्य संरचनाहरू नदीको बायाँ किनारामा पर्दछन् ।

योजनाको ६१३९ मिटर लामो हेडरेस सुरुङ, १४ं६ मिटर लामो प्रसर स्टाफर्मात पानीलाई भूमिगत विद्युत्गृहमा पुर्याइनेछ । विद्युतगृहमा ३ वटा टर्वाइन जडान हुनेछ । उत्पादित विद्युत् ५० किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको बाफिकोट सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको काम २०८६ भित्र पूरा गर्ने लक्ष्य छ । आयोजनाको निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । वर्षायाममा ४३०.२३ गिगावाट घन्टा र हिउँदयाममा १९२.२४ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।

प्रस्तावित जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र विस्तृत अध्ययन भइसकेको छ । यो आयोजना याप्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनीले अध्ययन गरेको हो ।

आयोजनाको लगानी

कम्पनीले आयोजना निर्माणका लागि गत वर्षकाे जेठ २ गते मात्रै वित्तिय व्यवस्थापन गरेको थियो । सम्झौताअनुसार आयोजनामा आयोजनामा नबिल बैंकको अगुवाईमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल), कर्मचारी सञ्चय कोष, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकले लगानी गर्ने टुंगो लागेको छ ।

नबिल बैंकले ४ अर्ब ४० करोड, एचआइडिसीएलले ४ अर्ब, कर्मचारी सञ्चय कोषले ४ अर्ब, लक्ष्मी सनराइजले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् । आयोजना निर्माण सम्पन्न गर्न २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा १६ अर्ब रुपैयाँ ऋण र बाँकी ७ अर्ब रुपैयाँ स्वपुँजी लगानी रहनेछ ।

पीपीए

आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच अघिल्लो २०८० बैशाख २८ गते पीपीए भएको हो । सम्झौताअनुसार प्राधिकरणले हिउँदको ६ महिनामा प्रतियुनिट ८.४० रुपैयाँ र पिक आवरमा उत्पादित विद्युत् प्रतियुनिट १०.५५ रुपैयाँमा खरिद गर्नेछ । बर्खायाममा प्रतियुनिट ४.८० रुपैयाँका दरले खरिद गर्ने कम्पनीले जनाएको छ ।

उत्पादन अनुमति

कम्पनीले विद्युत् विकास विभागबाट पुस २३ गते अनुमति पत्र पाएको हो । पुस २३ गते सबेको ऊर्जा सचिवस्तरीय बैंठकको निर्णयअनुसार २११७ पुस २४ गतेसम्म बहाल रहने गरी उत्पादन अनुमति पाएको हो ।

यो आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य छ । डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्वपूर्ण रहेको छ । कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img