साझा यातायात सहकारी संस्थाको ११०० किलोवाट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । पहिलो पटक ललितपुरको पुल्चोकमा नेपालकै सबैभन्दा बढी पावर भएको चार्जिङ स्टेसनको शुरुवात गरेको हो ।
चार्जिङ स्टेसनसहित साझाले ४० वटा विद्युतीय बस पनि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । आउँदो दिनमा डिजेल गाडीलाई रूपान्तरित बिजुली गाडी बनाएर परीक्षण गर्न लागेको साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले जानकारी दिए ।
अहिले सञ्चालनमा आउने बसमा २६ सिट रहेको र ४५ मिनेटमा बस पूर्ण चार्ज (फुल चार्ज) हुने जनाइएको छ । एक पटक फुल चार्ज गरेपछि साझा यातायातका विद्युतीय सवारी २०० किलोमिटरसम्म गुड्न सक्नेछन् ।
साझाले २०७९ असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेर बस नेपालमा ल्याएको थियो । साझा यातायातले आफ्नै जग्गामा चार्जिङ स्टेसन बनाएको हो ।