Saturday, December 6, 2025
spot_img

महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमै सीमित

spot_img

Share

spot_img

काठमाडाैँ । कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस, रुख कटान लगायतका कारणले आयोजना सोचेअनुसार अघि बढ्न नसकेको हो ।

तर पछिल्ला केही वर्षयता आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्तरोन्नति गरेयता काममा तीव्रता आएको आयोजनाका सिडीई राजेशभक्त पोखरेलले बताए ।  उनका अनुसार राष्ट्रिय गौरवको सूचीमा समावेश हुनु अघि मूल नहर निर्माणको प्रगति न्यून थियो। अहिले भने कैलालीको मालाखेतीसम्म १९ किलोमिटर लामो मूल नहर चार प्याकेजमा निर्माण भइरहेको छ ।

चार प्याकेजको निर्माणका लागि करिब रु एक अर्ब ९७ करोडको ठेक्का सम्झौता गरिएको छ । करिब दुई वर्षअघि गरिएको ठेक्का सम्झौता समयमा नसकिने भएपछि सबै प्याकेजमा म्याद थपिएको सिडीई पोखरेलले बताए । सरकारको लक्ष्य आगामी तीन वर्षभित्र आयोजनाको तेस्रो चरण सम्पन्न गर्ने रहेको छ ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरण आव २०६३/६४ मा सुरु भएको हो भने आव २०७६÷७७ मा यसलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको थियो । हालसम्म ब्रह्मदेव (जिरो प्वाइन्ट)देखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८.८ किलोमिटर मूल नहर निर्माण भइसकेको छ । भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल–भारत सिमानासम्म एक हजार २०० मिटर नहर र हेडरेगुलेटर निर्माण गरिसकेको छ ।

तर दशकौँपछि संरचना तयार भए पनि भारतीय पक्षले सिँचाइका लागि पानी उपलब्ध गराउने विषयमा सकारात्मक कदम चालेको छैन । “फुलेलीसम्म नहर तयार भइसकेको छ, पानी प्रवाहका लागि पटक–पटक ताकेता गरिएको छ,” पोखरेलले भने,।  हालसम्म आयोजनामा करिब नौ अर्ब रुपैयाँ लगानी भइसकेको उनले जानकारी दिए ।

पोखरेलका अनुसार “मुआब्जा निर्धारणमा स्थानीयको असन्तुष्टि, जग्गा विवाद र रुख कटानको अल्झनका कारण काम ढिलो भएको हो, तर पछिल्लो समय बजेट अभावको समस्या छैन ।” आयोजनाअन्तर्गत महाकाली नदीको पानी कैलालीको मालाखेती र कञ्चनपुरका त्रिभुवनबस्ती, गुलरिया तथा दोधारा चाँदनी क्षेत्रमा पुर्‍याउने योजना रहेको छ। यसका लागि कुल १५१ किलोमिटर नहर निर्माण गर्नुपर्नेछ।

आयोजना कार्यालयले आगामी २०८७ सम्म मालाखेतीसम्मको नहर निर्माण पूरा गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ । कञ्चनपुरमा कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार ७४१ हेक्टर भए पनि त्यसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशतमा मात्रै खेती भइरहेको छ। यहाँ २९ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा उपलब्ध छ, बाँकी क्षेत्र किसानहरू अझै अकासे पानीमा निर्भर छन् ।

महाकाली सिँचाइ आयोजनाको पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । ती चरणका माध्यमबाट भीमदत्त र बेदकोट नगरपालिकासँगै बेलडाँडी गाउँपालिकासम्म सिँचाइ पुगेको थियो। अब तेस्रो चरण सम्पन्न भएपछि कञ्चनपुर र कैलालीका ठूलो भूभागका किसानले वर्षभर सिँचाइ सुविधा पाउने आशा गरिएको छ । रासस

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img