काठमाडाैँ । सुनसरीस्थित रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत्को प्रिमियम महसुल बक्यौतामध्ये पहिलो किस्ता बुझाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार पहिलो किस्ता तिरेसँगै कम्पनीको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको छ ।
रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको प्रिमियम महसुल तिरेको हो । कम्पनीको कुल बक्यौता रकम रु ७५ करोड ३७ लाख रहेको र प्राधिकरणले सो रकमलाई २८ किस्तामा विभाजन गरेको जनाएको छ। पहिलो किस्ताका रूपमा रु २ करोड ७७ लाख बुझाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बक्यौता तिर्न बाँकी रहेका अन्य उद्योग र मिलहरूलाई पनि किस्ताबन्दीको सुविधा दिइएको छ। निर्धारित समयभित्र किस्ता बुझाउने सर्तमा विद्युत् सेवा पुनः जडान गर्न सकिने व्यवस्था गरिएको छ ।
लोडसेडिङको समयमा विशेष सुविधा प्राप्त गर्दै डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेका केही उद्योगहरूले लामो समयदेखि प्रिमियम महसुल नतिरेको कारण प्राधिकरणले ती उद्योगहरूसँग बक्यौता असुलीको प्रक्रिया अघि बढाएको हो ।
प्राधिकरणका अनुसार यस कदमले विद्युत् महसुल संकलनलाई व्यवस्थित बनाउने, उद्योगसँगको पारदर्शिता बढाउने र भविष्यमा यस्ता विवादहरू दोहोरिन नदिने नीति अपनाइएको छ ।








