Sunday, December 7, 2025
spot_img

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाः ३ वर्षमा १० प्रतिशत भाैतिक प्रगति

spot_img

Share

spot_img

काठमाडाैँ ।  राष्ट्रिय गौरवको सूचीमा रहेको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणका लागि ठेकेदार कम्पनी पटेल-रमण जेभीसँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको छ । आयोजनाले ठेक्का सम्झौता तोड्न मंगलबार सार्वजनिक सूचना जारी गरेको हो ।

ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिँदा पनि भौतिक प्रगति एकदमै न्यून (करिब १० प्रतिशत) मात्र रहेको, निर्माणमा प्रगति गर्न कुनै तदारुकताका नदेखाएको, सम्झौताको प्रावधानअनुसार कामका सुधार गर्न सूचना दिँदासमेत त्यसतर्फ कुनै चासो नदिएकाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ ।

आयोजनाले ठेक्का सम्झौता रद्द गर्ने प्रक्रियासँगै पटेल—रमण जेभीले कार्यसम्पादन जमानत बापत राखेको २ अर्ब ४० करोड र अग्रिम भुक्तानीको १ अर्ब २० करोड गरी ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफतको प्रक्रियासमेत अगाडि बढाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आयोजना निर्माणमा अस्वाभाविक ढिलाइ देखिएपछि गत असोज ७ गते मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, आयोजना प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । सुरुङ निर्माण सम्पन्न भइसके पनि बाँध, विद्युत् गृहलगायतका संरचना बनाउन नसक्दा अलपत्र परेको उक्त आयोजनालाई नयाँ प्रक्रियाबाट अगाडि बढाउनुको विकल्प नहरको उनले बताएका थिए ।

आयोजना निर्माणका लागि पटेल-रमण जेभीसँग १४ अर्ब ८ करोड ८ करोड रुपैयाँ (करसहित) मा ठेक्का सम्झौता भएको थियो । पटेल-रमण जेभीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकम कबोल गरेको थियो । निर्माण व्यवसायीले माघ २०७९ बाट काम सुरु गरेको थियो । २०८४ असारभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । यद्यपि, हालसम्मको भौतिक प्रगति करिब १० प्रतिशत मात्र छ । आयोजनाले ठेकेदार कम्पनीलाई हालसम्म २ अर्ब १४ करोड (करिब १५ प्रतिशत) रकम भुक्तानी गरिसकेको जनएको छ ।

आयोजनाको १३.३ किलोमिटर सुरुङ टनेल बोरिङ मेसिन (टिबिएम) को प्रयोग गरी खनिएको थियो । सुरुङ २६ वैशाख २०८१ मा छिचोलिएको थियो । सिन्धुली र रामेछापको सिमानामा रहेको सुनकोसी नदीको पानीलाई बाँध बनाएर सुरुङमार्फत मरिण नदीमा खसाली बागमती सिँचाइ आयोजनामार्फत धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको कूल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ ।

सुनकोसीको पानी मरिण नदीमा पथान्तरण गरी ३१ मेगावाटको जलविद्युत् उत्पादन गरिने छ । तराईका पाँच जिल्लामा वर्षैभरी सिँचाइ सुविधा पुर्‍याउँदा कृषि उत्पादकत्वको वृद्धि भई किसानको जीविकोपार्जनमा उल्लेख्य सुधार आउने, विद्युत्समेत उत्पादन गरी सिंगो देशको अर्थतन्त्रमा टेवा दिनुको साथै प्रादेशिक सन्तुलनमा समेत योगदान पुर्‍याउने आयोजनाको लक्ष्य छ । यिनै लक्ष्यका साथ सुनकोसी-मरिण डाइभर्सन आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा समावेश गरी रूपान्तरणकारी आयोजनाका रूपमा कार्यान्वयनमा ल्याइएको हो । आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img