काठमाडाैँ । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका र विगु गाउँपालिकामा ८८ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । एच.ई.डी. इनर्जी प्रालिले रोल्वालिङ खोलाको पानी प्रयोग गर्दै नदी प्रवाह (Run-of-River) प्रणालीमा आधारित यो आयोजना निर्माणको तयारी गरेको हो।
कम्पनीले विद्युत ऐन, २०४९ र विद्युत नियमावली, २०५० बमोजिम आयोजना निर्माणका लागि विद्युत विकास विभागमा लाइसेन्सका लागि दरखास्त दिएको छ । विद्युत विकास विभागले आज कार्तिक २६ गते सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र राय, सुझाव वा प्रतिक्रिया पेश गर्न सरोकारवालाहरुलाई आह्वान गरेको छ।
आयोजना विवरण
रोल्वालिङ खोला जलविद्युत आयोजनाको जडित क्षमता ८८ मेगावाट र वार्षिक उत्पादन ४८२.१७ गिगावाट घण्टा (GWh) रहनेछ। आयोजना ११.०७ घनमिटर प्रति सेकेन्डको डिजाइन बहाव र ९६१ मिटर कुल हेडमा सञ्चालन हुनेछ।
आयोजनाको बाँध, इन्टेक, हेडरेस सुरुङ, सर्ज साफ्ट, पेनस्टक पाइप र भूमिगत विद्युत गृह सबै संरचना रोल्वालिङ खोलाको बायाँ किनारमा रहनेछन् । ६ मिटर अग्लो र २५ मिटर लम्बाइको कङ्क्रिट ओभरफलो डाइभर्सन वेयरबाट पानी संकलन गरी ४.८ किमी लामो सुरुङ हुँदै भूमिगत विद्युत गृहमा पु-याइनेछ।
भूमिगत विद्युत गृहमा ३ वटा २९.३५ मेगावाट क्षमताका पेल्टन टर्वाइन र ३ वटा ३४.५ एमभीए सिङ्क्रोनस जेनेरेटर जडान गरिनेछ। उत्पादित विद्युतलाई ३५ एमभीएका ११/१३२ के.भी. ट्रान्सफरमरहरू मार्फत ४३ कि.मि. लामो २२० के.भी. प्रसारण लाइन हुँदै नेपाल विद्युत प्राधिकरणको बाह्रबिसे सब-स्टेसनमा जोडिनेछ।
वातावरणीय पक्ष
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) अनुसार बाँध क्षेत्रदेखि विद्युत गृहसम्मको खण्डमा रोल्वालिङ खोलामा आवश्यक न्यूनतम पानी प्रवाह निरन्तर छाडिने व्यवस्था गरिएको छ, जसले स्थानीय जीवजन्तु, जलचर र वनस्पतिमा पर्ने असर न्यूनिकरण गर्नेछ।
लक्ष्य
रोल्वालिङ खोला जलविद्युत आयोजनाबाट मिति २०८३ साल भदौ महिनाभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीले लिएको छ। आयोजनाले दोलखा जिल्लामा ऊर्जा उत्पादनसँगै रोजगारी र स्थानीय पूर्वाधार विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।








