काठमाडाैँ । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जीतपुरमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अत्याधुनिक विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । स्थानीय स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाले करिब ७५ लाख रुपैयाँभन्दा बढी लगानीमा निर्माण स्टेशन सञ्चालनमा अाएकाे हाे ।
यस स्टेशनमा ८० केभी क्षमताको फास्ट चार्जर जडान गरिएको छ, जसबाट एकैपटक चारवटा सवारी साधन चार्ज गर्न सकिने र दैनिक ५० भन्दा बढी विद्युतीय सवारी सहज रूपमा सेवा लिन सक्ने व्यवस्थापक सागर घिमिरेले जानकारी दिएका छन् ।
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी र बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले संयुक्त रूपमा रिबन काटेर स्टेशनको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै पन्थीले सहकारी क्षेत्रले प्रविधिमैत्री र हरित ऊर्जा सेवामा हातेमालो गर्नु सकारात्मक भएको बताउँदै स्वदेशमै उत्पादित विद्युत् खपत बढाउन यस्तो पूर्वाधारले टेवा पुग्ने बताएका छन् ।
नगरप्रमुख अर्यालले चार्जिङ स्टेशन सञ्चालनले स्थानीय क्षेत्रमा विद्युतीय सवारी प्रयोगलाई थप प्रोत्साहन गर्ने उल्लेख गरे । सहकारीका अध्यक्ष घनश्याम घिमिरेले सेवा विस्तार तथा दिगो ऊर्जा प्रवर्द्धनका लागि यो परियोजना संस्थाको महत्वपूर्ण उपलब्धि भएको बताए ।








