काठमाडाैँ । अपि पावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्न लागेकाे छ ।कम्पनीको पुस ७ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट बोनस तथा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै कार्यान्वयनमा आउनेछ ।
लाभांशसँगै कम्पनीले पूँजी विस्तारको योजना पनि अघि सारेको छ । बोनस शेयरपछि कायम हुने चुक्ता पुँजीका आधारमा १ः०.३० को अनुपातमा ३० प्रतिशत अर्थात १९१.३९ कराेड रूपैयाँ बराबरकाे हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरिएको छ । हकप्रदबाट संकलित रकम दिब्यज्योति हाइड्रो पावर लिमिटेडद्वारा निर्माणाधीन ५० मेगावाट क्षमताको मस्याङ्दी बेसी जलविद्युत् आयोजनामा स्वपूँजी लगानीका रूपमा प्रयोग गरिने कम्पनीले जनाएको छ ।
ऊर्जा क्षेत्रमा लगानी विस्तारको रणनीतिसहित अपि पावरले लाभांश र हकप्रद दुवै प्रस्ताव गरेपछि कम्पनीप्रति लगानीकर्ताको चासो बढ्ने अपेक्षा गरिएको छ ।








