काठमाडौँ । पछिल्ला दिनहरूमा देशका विभिन्न स्थानमा दैनिकजसो बत्ती जाने समस्या बढ्दै गएको छ । मुख्य गरी पाटन, स्यूचाटार र बालाजु लगायतका क्षेत्रमा साँझको समयमा बत्ति जाने गरेको छ । पूर्वसूचना बिना पटक–पटक विद्युत् अवरुद्ध हुन थालेपछि सर्वसाधारण उपभोक्ता हैरान बनेका छन् ।
घरायसी कामदेखि उद्योग–व्यवसाय र कार्यालय सञ्चालनसम्म प्रभावित हुन थालेको गुनासो बढ्दै गएको छ । उपभोक्ताहरूका अनुसार बिहान र साँझको व्यस्त समयमा समेत विद्युत् कटौती हुने गरेको छ । ‘लोडसेडिङ अन्त्य भएको भनिए पनि व्यवहारमा दैनिक बत्ती जान थालेको छ,’ ललितपुर जिल्लाको कुसुन्तीबासी रमण खड्काले गुनासो गरे ।
यस विषयमा नेपाल विद्युत प्राधिकरणले भने लोडसेडिङ नभई प्राविधिक समस्याका कारण विद्युत आपूर्ति अवरुद्ध भएको बताउँदै आएको छ । ‘बत्ति गएको लामो समयसम्म पनि बिजुली नआएपछि वितरण केन्द्रमा फोन गर्दा ‘माथि बाटै समस्या भएको हो’ भन्ने जवाफ आउँछ, उनले भने ।
प्राधिकरणका अनुसार प्रसारण लाइन, सबस्टेशन तथा वितरण प्रणालीमा देखिएका प्राविधिक त्रुटी, मर्मत–सम्भार र आकस्मिक खराबीका कारण केही स्थानमा विद्युत आपूर्ति प्रभावित भएको हो । अहिले नेपालकाे उत्पादन क्षमता करिब ४ हजार मेगावाटकाे हाराहारीमा छ । तर, प्राधिकरणकाे कमजाेर विद्युतीय संरचनाका कारण उपभाेक्ताहरूले दैनिक जसाे यस्ताे समस्या भाेग्नु परेकाे छ ।
पुराना उपकरण, अत्यधिक माग र मौसमजन्य कारणले पनि समस्या देखिएको हो । तर उपभोक्ताहरू भने नियमित रूपमा बत्ती जान थालेपछि लोडसेडिङ फर्किएको आशंका गर्न थालेका छन् । उनीहरूले समस्या समाधानका लागि दीर्घकालीन सुधार र पूर्वसूचनासहितको व्यवस्थापनको माग गरेका छन् ।
स्थानीयको गुनासो बढ्न थालेपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य प्राविधिक समस्या समाधानको प्रयासतर्फ आफैँ खटिएका छन् । उनले बिहीबार भार प्रेषण केन्द्र स्यूचाटारमा माथिल्लो तहका कर्मचारीहरू छलफल गरी तत्काल समस्या समाधान गर्न निर्देशन दिएका छन् ।
यसैगरी, शुक्रबार प्राधिकरण लखनखेल वितरण केन्द्र र जावलाखेल वितरण केन्द्रमा पुगेर समस्याको समाधानका लागि छलफल गरेका थिए । उनले गुणस्तर बिजुली दिनेमा प्राधिकरण केन्द्रित रहेको बताउँदै प्राविधिक समस्या तत्काल समाधानका लागि प्रक्रिया अघि बढाएको जानकारी दिएका छन् । उनका अनुसार जाडोँ बढेसँगै हिटर, एसी, इलेक्ट्रीक उपकरणहरूको प्रयोग बढ्दा अत्यधिक माग बढी भएकोले समस्या देखिन सक्ने जानकारी दिए ।
प्राधिकरणले प्राविधिक समस्या क्रमशः समाधान हुने र विद्युत आपूर्ति सामान्य बनाइने दाबी गरे पनि दैनिक बत्ती जाने समस्या कहिलेसम्म कायम रहने हो भन्ने प्रश्न भने उपभोक्तामाझ यथावत् छ ।








