काठमाडाैँ । विश्व बैंक समूहले भूटानको सबैभन्दा ठूलो जलविद्युत आयोजना दोर्जिलुङ जलविद्युत परियोजना निर्माणको लागि ८१ करोड ५० लाख डलरको प्याकेज घोषणा गरेको छ । यो रकम नेपाली मुद्रामा १ खर्ब १८ अर्ब भन्दा बढी हो ।
यो प्याकेजले भूटानको दिगो ऊर्जा विकासलाई मजबुत बनाउने र क्षेत्रीय ऊर्जा व्यापारलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । यो भूटानको सार्वजनिक-निजी साझेदारीमा आधारित सबैभन्दा ठूलो जलविद्युत परियोजना हो। जसले निजी लगानीकर्ताहरूबाट थप ९० करोड डलर जुटाउने छ ।
यो परियोजनाको क्षमता ११२५ मेगावाट छ । जसले वार्षिक रूपमा ४५०० गिगावाट आवरभन्दा बढी सफा बिजुली उत्पादन गर्नेछ । यसले भूटानको ऊर्जा उत्पादनलाई ४० प्रतिशत र ऊर्जा निर्यातलाई ४२ प्रतिशतले बढाउने छ । यो परियोजना निर्माण र सञ्चालन चरणमा हजारौं रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई उकास्ने अपेक्षा गरिएको छ ।
विश्व बैंक समूहको कुल लगानी ८१ करोड ५० लाख डलर छ ।
विश्व बैंकका अनुसार यो प्याकेजले भूटानको कार्बन-नेगेटिभ प्रतिबद्धतालाई समर्थन गर्दै पर्यावरणीय र सामाजिक पक्षहरूलाई प्राथमिकता दिएको छ । परियोजनाले स्थानीय समुदायहरूका लागि सडक अपग्रेड र बजार तथा आवश्यक सेवाहरूमा पहुँच बढाउने छ । यसले मौसमी ऊर्जा अन्तरलाई सम्बोधन गर्दै हिउँदमा महँगो आयातलाई हटाउने र गर्मी मानसुनमा भारतलाई निर्यात गर्ने अवसर सिर्जना गर्नेछ ।
यो परियोजना भूटानको ड्रुक ग्रीन पावर कर्पोरेसन (६० प्रतिशत) र टाटा पावर (४० प्रतिशत)को स्वामित्वमा रहेको विशेष उद्देश्य वाहक (एसपीभी) डीएचपीएलद्वारा सञ्चालित छ । यसले मंगार र ल्हुन्टसे जिल्लाहरूमा गरिबी, बेरोजगारी र बाहिरिने प्रवासलाई घटाउने तथा स्थानीय उद्यमहरूलाई उत्प्रेरित गर्ने छ । विश्व बैंकका देशीय प्रबन्धक जेभियर फुर्टाडोले यो प्याकेजलाई भूटानको दिगो विकासको लागि मोडेलको रूपमा वर्णन गरेका छन् ।
यो परियोजनाले क्षेत्रीय सफा ऊर्जा व्यापारलाई बढावा दिँदै भूटानको आर्थिक वृद्धिलाई तीव्र बनाउने अपेक्षा गरिएको छ ।








