काठमाडाैँ । युनिभर्सल पावर कम्पनी लिमिटेडले सोलुखुम्बु जिल्लामा माथिल्लो इन्खु खोला नदी प्रवाहमा आधारित (Run-of-River) जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले निर्माण गर्न लागेको आयोजना कोशी प्रदेश अन्तर्गत सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र माप्यदुधकोशी गाउँपालिका–६ क्षेत्रमा अवस्थित छ ।
आयोजनाको इन्टेक प्रस्तावित सुपर इन्खु खोला जलविद्युत आयोजनाको विद्युतगृहभन्दा करिब ४५० मिटर तल्लो तटीय क्षेत्रमा पर्ने जनाइएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न करिब ५० किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिनेछ । जसलाई सितलपाटी सबस्टेसनमा जडान गरिने योजना रहेको छ ।
आयोजनाको कुल वार्षिक विद्युत उत्पादन क्षमता १४६.६२ गिगावाट घण्टा रहेको छ । यसमध्ये सुक्खा मौसममा ४४.८४ गिगावाट घण्टा र बर्खायाममा १०१.७८ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ ।
चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यस आयोजनाको कुल निर्माण लागत ६ अर्ब २३ करोड ३७ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २५ करोड ७५ लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।








