काठमाडाैँ । लामो समयदेखि ढिलाइ हुँदै आएको बूढीगण्डकी जलविद्युत् आयोजना अब तीव्र गतिमा अघि बढाउन उच्च राजनीतिक तहबाट दबाब बढ्न थालेको छ। सभामुख डोलप्रसाद अर्याल ले आयोजनालाई प्राथमिकतामा राखेर स्पष्ट समयसीमा निर्धारण गर्न निर्देशन दिएका छन् ।
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र आयोजना प्रमुख कार्यकारी अधिकृत अरुण रजौरिया सँगको छलफलमा सभामुख अर्यालले अब ढिलाइ सह्य नहुने स्पष्ट सन्देश दिएका हुन्। उनले आयोजनालाई केवल विद्युत् उत्पादनको सीमाभन्दा बाहिर राख्दै समग्र आर्थिक विकाससँग जोडिएको बहुआयामिक परियोजनाका रूपमा व्याख्या गरे ।
उनका अनुसार बूढीगण्डकीले पर्यटन प्रवर्द्धन, कृषि उत्पादनको बजार विस्तार र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिन सक्छ, जसले देशको आर्थिक रूपान्तरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले पनि आयोजना निर्माणलाई तीव्रता दिन सरकार पूर्ण रूपमा तयार रहेको जनाउँदै आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आयोजनामा देखिएका प्रशासनिक वा नीतिगत समस्या खुलस्त राख्न आग्रह गर्दै समाधानका लागि सरकार तत्पर रहेको बताए ।
मन्त्रालयका सहसचिव रुद्रसिङ तमाङले पनि आयोजना अघि बढाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् भने सांसद बोधनारायण श्रेष्ठले ठूला परियोजनालाई प्राथमिकता दिनु सरकारको विकासप्रतिको गम्भीरताको संकेत भएको धारणा राखे ।
१,२०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी आयोजना गोरखा र धादिङको सिमानामा अवस्थित छ र राष्ट्रिय गौरवका परियोजनामध्ये एक मानिन्छ। लामो समयदेखि अलमलमा परेको यो आयोजना अब स्पष्ट कार्यतालिका र राजनीतिक प्रतिबद्धतासहित अघि बढ्ने अपेक्षा गरिएको छ ।








